पाल्पा ।
सुन्तला महोत्सव सफल पार्न भन्दै आइतबार दुई पालिकाले स्थानीय बिदा घोषणा गरेका छन् । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले शनिबार र आइतबार राखेको सुन्तला महोत्सव सफल पार्न आइतबार स्थानीय बिदा दिएका हुन् ।
दुई पालिकाको आयोजनामा रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा सुन्तला महोत्सव गरिन लागेको हो । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले राजनीतिक दलका साथै महोत्सव आयोजक समितिको बैठकले आइतबार बिदा दिने निर्णय गरेको बताए ।
महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैंचा व्यवस्थापनमा सीप र ज्ञानको विकास गर्न महोत्सव राखेको उनीहरूले बताए ।
दुवै स्थानीय तहले महोत्सवका लागि ५/५ लाख बजेट विनियोजन गरेका छन् । यस वर्ष किसान भने असिनाले फूल झार्ने, बोट पहेँलै हुने, बोट सुक्दै जाने, साना सुन्तला फल्ने, अमिलो हुने, दाना छिट्टै पहेँलै हुने जस्ता समस्याले हैरान बनेका छन् ।