रुपन्देही ।
लुम्बिनी प्रदेशसभाका महिला तथा समानुपातिक सांसदहरुले वार्षिक बजेट र योजना तर्जुमा प्रक्रियामा आफूहरुलाई विभेद गरिएकाले अब त्यसरी काम अघि बढाउन नदिने बताएका छन् ।
आगामी वर्षको बजेट निर्माण प्रक्रियाको पूर्वसन्ध्यामा उनीहरुले विगतका गल्ती दोहोरिनदिन नहुने बताउँदै आफ्नो अर्थपूर्ण सहभागिताका लागि सचेत रहने र खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सांसदहरुको भूमिका र सहभागिता बढाउने उद्देश्यले दलित महिला महासंघ नेपालले गरेको कार्यक्रममा उनीहरुले विगतका गल्ती दोहोरिन नदिन आफू आवद्ध दलमा खबरदारी गर्ने औंल्याए ।
अधिकांश महिला सांसद समानुपातिकबाट रहेको र बजेटमा समेत समानुपातिक सांसदहरुलाई विभेद गरिएकोमा उनीहरुले असन्तुष्टि पोखेका थिए । धेरैजसो प्रदेश सांसदहरुले सरकारले मन्त्रालयलाई मात्रै योजना तर्जुमा गर्न लगाउँदा नागरिकका आवश्यकता छुटेको गुनासो गरे ।