गृहपृष्ठ खबर बाणगंगामा ५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

बाणगंगामा ५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका करिब ५ हजार किशोरीहरुलाई ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

सोमबार चारनम्बर जीतपुरमा रहेको होटल मझेरीमा बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको एच.पि.भी. खोप अभियान सम्बन्धि पालिका स्तरिय खोप समन्वय बैठक तथा अभिमुखिकरण कार्यक्रममा ६४ खोप केन्द्रबाट यही माघ २९ देखि फागुन ६ गते सम्म खोप अभियान संचालन गर्न लागिएको जनाएको छ ।

उनले अभियानका क्रममा कक्षा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने किशोरीहरुलाई खोप लगाईने बताए । स्वास्थ्य शाखा प्रमुख पौडेलका अनुसार ती खोप केन्द्रमा ६४ जना स्वास्थ्यकर्मी र १३० जना स्वयमसेवक परिचालन गरिने छ । विद्यालयमा रहेका किशोरीहरुलाई बिद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । बिद्यालय बाहिर रहेका किशोरीहरुलाई समेत खोप लगाईने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गरिमा घिमिरेले नेपालमा क्यान्सरको अवस्था, एचपीभी भाइरस र खोपको प्रभावकारीता बारेमा प्रस्तुति दिएकी थिइन् । सो क्रममा उनले खोप एक डोज लगाएपछि पुग्ने जानकारी दिईन् । उनले नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको बताईन् ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने उनले बताईन् । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको उनले बताईन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा यस खोप अभियानलाई बार्षिक निति तथा कार्यक्रममा राखेर निरन्तरता दिईने बताए । नगरप्रमुख अर्यालले खोप लगाउनुपर्ने किशोरीहरु यस खोप अभिायनबाट एक जना पनि नछुटने गरि सक्रियताका साथ लाग्न निर्देशन दिए । उनले यस अभियानका बारेमा किशोरीहरुका अभिभावकलाई समेत आवश्यक प्रशिक्षण दिन आवश्यक रहेको बताए ।

खोप अभियानलाई भव्यताका साथ सफल बनाउन सबै सरोकारवालाहरुलाई लाग्न उनले अपिल समेत गरेका छन् । उनले अभियानलाई सफल बनाउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने भन्दै सहि सूचना र अभियानलाई प्रोत्साहित गर्ने सामग्री प्रस्तुत गर्न सञ्चारकर्मीसंग आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरी लगायतका वक्ताहरुले अभियान सफल बनाउन सबै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपालमा बर्षेनी २ हजार १६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिएपछि यसलाई रोक्नका लागि खोप सुरु गरिएको हो । अहिले दैनिक पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हने गरेको छ । यो खोपका लागि नेपालमा आर्थिक वर्ष २०७२/०७३ मा चितवन र कास्किमा परिक्षण गरिएको थियो ।

सम्बन्धित् समाचार