गृहपृष्ठ खबर बाणगंगामा पञ्चबर्षीय शिक्षा क्षेत्रको योजना निर्माणको काम अन्तिम चरणमा

बाणगंगामा पञ्चबर्षीय शिक्षा क्षेत्रको योजना निर्माणको काम अन्तिम चरणमा

प्रकाशित मिति:

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले प्रस्तावित पञ्चबर्षीय शिक्षा क्षेत्रको योजना मस्यौदामाथि पृष्ठपोषण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

योजना बनाउन तयार गरिएको कार्यदल समिति सदस्य, विद्यालयका प्रधानाध्यक, जनप्रतिनिधि, शिक्षकहरूको बीचमा कार्यशाला गोष्ठी गरिएको हो ।

बाणगंगा नगरपालिकाले कार्यदल गठन गरि शिक्षा क्षेत्रको सुधारको लागि आगामी पाँच वर्षको योजना बनाएको र सोही कार्यदलले तयार पारेको योजनाको खाका सम्बन्धमा विभिन्न चरणमा सुझावहरु लिने काम भईरहेको शिक्षा शाखा प्रमुख तथा कार्यदल सचिव खिम बहादुर जिसीले स्पष्ट पार्नुभयो ।

उहाँले पञ्चबर्षीय शिक्षा योजना नगरसभाबाट समेत पारित भएको जानकारी दिदैं योजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

शिक्षा क्षेत्रलाई थप सुदृत बनाउँदै लग्ने विषयमा सरोकारवालाहरुबाट रचनात्मक र सकारात्मक सुझाव सङ्कलन प्राप्त भएको भन्दै उनले खुशी व्यक्त गर्नुभयो ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले कुनै पनि ठाउँमा पुग्नु अघि योजना बनाएर अगाडि बढे मात्र निश्चित गन्तव्यमा पुग्न सकिने स्मरण गराउँदै नगरको शिक्षालाई गुणस्तरिय र दिगो बनाउन योजना निर्माणको काम भएको बताउनुभयो । उहाँले यस योजनाले आगामी पाँच वर्षभित्र बाणगंगाले शिक्षा क्षेत्रमा गरेको प्रगति मापन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रस्तावित शिक्षा क्षेत्रको योजनाभित्र समावेश गरिएका विषयको चर्चा गर्दै थप गर्नुपर्ने या सच्याउनुपर्ने विषय माथि सुझाव सङ्कलन गरिएको थियो ।

सोही क्रममा शैक्षिक क्षेत्रमा भएका त्रुटी, समस्या, समाधानका उपाय लगायतका विषयमा सुझाव समेत संकलन गरिएको थियो ।

सम्बन्धित् समाचार