गृहपृष्ठ खबर २०६ जना विधार्थीहरुलाई गौतमबुद्ध सामुदायिक वनद्धारा शैक्षिक सामग्री वितरण

२०६ जना विधार्थीहरुलाई गौतमबुद्ध सामुदायिक वनद्धारा शैक्षिक सामग्री वितरण

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ मा रहेको गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहले २०६ जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार वनको १४औं बार्षिक साधारण सभामा गरिब, विपन्न तथा जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको वनका अध्यक्ष सुर्य बहादुर मल्लले बताए ।

वनका सचिव अहमद अलिले एक थान झोला, ५ वटा कापी र एक प्याकेट पेन्सील वितरण गरिएको बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद नवराज लामिछानेले प्रदेश सरकारले यस क्षेत्रमा विकास निर्माणका कामहरु कम गरेको स्वीकार गरे । टिक्कर−बुड्ढी−बिजगौरी सडकखण्डको निर्माणको लागि मुख्यमन्त्रीलाई पटकपटक जानकारी गराएको बताउँदै उनले भने, ‘मुख्यमन्त्री यसप्रति सकारात्मक हुनुहुन्छ । आगामी आर्थिक बर्षबाट यस सडकखण्डलाई प्रदेश आफ्नो दायित्वमा लिदैंछ ।’

उनले यस सडकखण्डमा संघले पनि लगानी गर्न सक्ने बताए । उनले छिट्टै सुकुम्बासीहरुको समस्या समाधान हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि बुद्धभूमि नगरपालिका ५ का वडाध्यक्ष रोमबहादुर थापाले समग्र वडाको विकास वडाको बजेटले मात्र सम्भव नभएको भन्दै वनले समेत हातेमालो गर्नुपर्ने बताए ।

उनले हरेक वनले आर्थिक पारदर्शीतालाई विशेष ख्याल गरेर आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । वडाभित्रका वनहरुले वडासंग आवश्यक समन्वय नगरेको उनको गुनासो छ । उनले आफु वडाको अभिभावक भएकाले वडासंग सम्बन्धित हरेक पक्षसंग सहकार्य गर्दै अघि बढ्न प्रतिवद्ध रहेको जिकीर गरे ।

वनका अध्यक्ष सुर्यबहादुर मल्लले बार्षिक प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०८१/८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो क्रममा अध्यक्ष मल्लले वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताए । उनले समाज रुपान्तरणमा वनले खेल्न सक्ने भूमिका निर्वाह गर्न आफ्नो टिम तयार रहेको बताए ।

वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनको भनाई छ । उनले वनलाई दिगो व्यवस्थापन गर्दै अझ सुन्दर र रमणीय बनाउने बताए । उनले वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

सामुदायिक वन संजालका अध्यक्ष लाल बहादुर कुँवर, महिला नेतृ मिना केसी, युवा नेता राघवेन्द्र ठाकुर लगायतका वक्ताहरुले वन मानिसको जीवन जिउने मूल आधार भएकाले सबै यसको संरक्षणमा लाग्नुपर्ने बताएका थिए । वनले सम्पूर्ण उपभोक्ताहरुको आवश्यकलाई मध्येनजर गरि सहज र सरल रुपमा काठ दाउरा उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई छ ।

उक्त कार्यक्रम शनिबार प्रेमनगरको बजार परिसरमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार