सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.३ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसरमा गंगौलियामा निर्मित प्रशासनिक भवनको नगरप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गरेका हुन् ।
सो क्रममा नगरप्रमुख अर्यालले नवनिर्मित वडा कार्यालयबाट सबै वडावासीले सर्वसुलभ रुपमा छिटोछरितो तरिकाले सेवा पाउने बताए । सबै वडावासीलाई पायक पर्ने स्थानमा नै वडा कार्यालय निर्माणसंगै सेवा प्रवाहलाई थप गुणस्तर बनाउने आधार तयार भएको उनको भनाई छ ।
उपप्रमुख रिता कुमारी चौधरीले वडा कार्यालय वरपर अहिले नै आवश्यक व्यवस्थापन नहुँदा सुरुवाती चरणमा सेवाग्राहीले केही समस्या झेल्नु परे पनि केही समयपछि क्रमिक रुपमा सहज वातावरण हुदैं जाने बताईन् । उनले सुविधा सम्पन्न वडा कार्यालय बनेकाले सेवाग्राहीले विगतमा जस्तो समस्या झेल्नुनपर्ने बताईन् ।
बाणगंगा नगरपालिका ३ का वडाध्यक्ष टेक बहादुर झेडी मगरले हालसम्म भाडा रहेको वडा कार्यालयबाट वडाले सेवा प्रवाह गर्दै आएको स्मरण गरे । उनले उद्घाटन गरिएको अत्याधुनिक भवनबाट वडाले गुणस्तरिय र प्रविधिमैत्री सेवा प्रवाह गर्ने बताए । उनले वडाको नयाँ प्रशासनिक भवनको उद्घाटन भएसंगै थप काम गर्ने उर्जा थपिएको बताए ।
भाडाँमा रहेको वडा कार्यालयमा सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिका लागि पर्याप्त स्थान नहुँदा समस्या झेल्नुपरेको तर अब उक्त अवस्था अन्त्य भएको उनले बताए ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले यस नवनिर्मित वडाको प्रशासनिक भवन करिब १ करोड ४० लाखको लागतमा निर्माण भएको बताए । उनले बाणगंगाका ११ वटै वडा कार्यालयलाई अपाङ्गमैत्री, प्रविधिमैत्री र गुणस्तरयुक्त बन्दै गएको बताए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीसहित वडावासीको उल्लेख्य सहभागिता रहेको थियो ।