गृहपृष्ठ खबर बाणगंगा- २ मा एक महिने ब्युटी पार्लर सम्बन्धी सिप विकास तालिम सम्पन्न

बाणगंगा- २ मा एक महिने ब्युटी पार्लर सम्बन्धी सिप विकास तालिम सम्पन्न

प्रकाशित मिति:

बाणगंगा, वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आर्थिक अभावले स्वरोजगार बन्न समस्या भए नगरपालिकाले सहयोग गर्ने बताएका छन् । महिला तथा युवाहरुलाई उद्यमशीलता र व्यवसायिकतामा जोड्न नगर प्रयासरत रहेको उनको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले बाणगंगा नगरपालिका २ पिपरामा आयोजना गरेको एक महिने ब्युटी पार्लर सम्बन्धी सिप विकास तालिमको समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाहरुसंग आवश्यक समन्वय गरेर नगरको तर्फबाट नगरपालिका जमानी बसेर सम्झौता गर्ने तयारी गरेका थियौं तर कोही आउनुभएन् । आर्थिक अभावले स्वरोजगार बन्न समस्या भए नगरपालिकाले सहयोग गर्छ,’ उनले भने ।

नगरप्रमुख अर्यालले यस्ता तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्ने आधार प्रदान गर्ने बताए । नगरपालिकाले पनि बर्षेनी सयौ महिलाहरुका लागि सिपमूलक तालिमहरु संचालन गर्दै आएको बताउँदै उनले भने, ‘तालिम तालिममा मात्र सिमित हुनुहुदैंन् । तालिम लिएपछि यसको ज्ञान र सिपलाई सदुपयोग गरि उद्यमशीलतामा जोडिनुपर्छ ।’

नगरप्रमुख अर्यालले हालसम्म नगरले करिब ५ हजारलाई विभिन्न तालिम दिएको बताए । तालिममा सहभागीहरु नगरको अपेक्षा अनुसार स्वरोजगारमा जोडिन नसकेको उनको गुनासो छ । उनले यस्तै तालिममा सहभागी हुदैं व्यवसायिकतामा जोडिएर आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने बताए । बाणगंगामा नगरले संचालन गरेको तालिममा सहभागी हुदैं अहिले प्रशिक्षकको रुपमा स्थापित भएका उदाहरणहरु रहेको भन्दै उनले खुशी व्यक्त गरे ।


बाणगंगा नगरपालिका वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेलले अहिले सिकेको सिपलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा जोडेर निरन्तरता दिदाँ थप निखार्ता आउने उनको भनाई छ । उनले सिक्ने प्रक्रिया जीवनपर्यन्त चलिरहने भएकाले आगामी दिनमा थप एडभान्स प्रकारको तालिममा सहभागी हुन आग्रह गरे ।


घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वरिष्ठ अधिकृत सन्तोष खनालले तालिमबाट हासिल गरेको ज्ञान, सिपको सदुपयोग भए मात्र यस तालिमको औचित्यता सार्थक हुने बताए । उनले तालिम लिएका सहभागीहरुलाई व्यवसायिकता र आयआर्जनसंग जोडिन आग्रह गरे । उनले आगामी दिनमा घरेलु तथा साना उद्योग कार्यालयले आवश्यकताका आधारमा ब्युटी पार्लर सम्बन्धी थप सिप विकास गर्न एडभान्स तालिमको व्यवस्थापन गर्ने समेत जिकिर गरे ।

शान्ति लामा मोक्तानले प्रशिक्षण दिएको उक्त एक महिने तालिममा २६ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागी महिलाहरुले तालिमबाट हासिल ज्ञान, सिपले आत्मनिर्भर बन्ने उर्जा प्रदान गरेको बताएका थिए ।

सम्बन्धित् समाचार