परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई जिल्ला अदालत परासीले एक वर्ष कैद र दुई लाख जरिवाना गरेको छ ।
लागूऔषध मुद्दामा कसूर फागुन २१ गते दोषी ठहर गरेको अदालतले आज कैद र जरिवानाको फैसला गरेको हो । जिल्ला अदालत परासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले बताए । कैदसँगै गुप्तालाई क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ ।
गुप्तासँगै लागूऔषधमा मुद्दामा कसुरदार ठहर भएका रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवाना भएको छ । अध्यक्ष गुप्तासहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको भए पनि जितेन्द्र पासवान र रामा साहलाई अदालतले सफाइ दिएको छ । अर्का एक जना भने अझै फरार छन् ।