सागर वि.क., वैखरी अनलाईन ।
होली पर्वको अवसर पारेर विहिबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ कपिलवस्तुमा १८ बर्षमुनिका बालबालिकाले निशुल्क रुपमा हेरेका छन् ।
जिल्लाको बाणगंगा नगरपालिकाका दुई खेलप्रेमी युवा समाजसेवीहरु सुसिलसिंह ठकुरी र शंकर कार्कीले संयुक्त रुपमा निशुल्क टिकटको व्यवस्था गरि १५० बढी बालबालिकालाई उक्त चलचित्र देखाएका हुन् ।
शनिबार चारनम्बर जीतपुरमा रहेको ओएसिस सिनेमा हलमा विहान ९ बजेको शोमा बालबालिकालाई फुटवल खेलप्रति प्रोत्साहन गर्ने उद्देश्यसहित चलचित्र ‘अञ्जिला’ देखाईएको सुसिलसिंह ठकुरीले बताए ।
शुक्रबार दिउँसो निशुल्क रुपमा फिल्म हेर्नका लागि आफुहरुले सार्वजनिक रुपमै १८ बर्षमुनिका बालबालिकालाई आह्वान गरेको स्मरण गदै उनले भने, ‘हामीहरुले आह्वान गर्ने वित्तिकै धेरैको फोन–कल आयो । धेरैले फिल्म हेर्ने ईच्छा व्यक्त गरेर नाम टिपाउनुभयो । १३३ जनालाई मात्र फिल्म देखाउने योजना थियो तर आज १५० जना बढी बालबालिकाले फिल्म हेर्नुभयो ।’
उनले आफुहरुको उद्देश्यलाई आत्मसाथ गरेर उत्साहजनक सहभागिता जनाउने सबैलाई धन्यवाद समेत दिएका छन् । फिल्म हेरिसकेपछि बालबालिकाहरु एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथाले प्रेरित हुने उनको विश्वास छ ।
एञ्जिलाको फुटवलप्रतिको लगाव, संघर्ष र निरन्तरको मेहेनतले फिल्म हेर्ने सबै बालबालिकामा छुट्टै प्रकारको सकारात्मक प्रेरणा पैदा भएको आफुहरुले प्रतिक्रिया प्राप्त गरेको शंकर कार्कीले बताए । भविष्यमा यीनै बालबालिकाहरु नेपाली राष्ट्रिय फुटवल टोलीबाट खेल्ने सपनासहित कडा परिश्रमसहित लाग्ने उनको विश्वास छ । उनले फिल्म हेर्न आएका बालबालिकामध्येबाट लक्की ड्र गरेर १० जनालाई छनोट गरि एक÷एक ओटा फुटवल उपहार समेत दिईएको जानकारी दिए ।
फिल्म हेरिसकेपछि बालबालिकाहरुले फिल्म निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिदैं निशुल्क रुपमा फिल्म हेर्न अवसर दिने दुवै जनालाई धन्यवाद दिएका थिए ।
चलचित्र ‘अञ्जिला’ लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । यो चलचित्रमा मुख्य भूमिकामा एञ्जिलासँगै दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।