परासी — पश्चिम नवलपरासीको रामग्राम बाट स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जना युवा पक्राउ परेका छ्न् । भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका–५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकलमा सवार व्यक्तिहरूलाई जाँच गर्दा १२ लाख नगद फेला परेको हो ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन्।
यादवले बोकेको झोलाबाट ५ सय दरका १ हजार २०० थान नोट गरी ६ लाख रुपैयाँ भेटिएको थियो भने बनियाको जिन्स पाइन्टको खल्ती तथा कपडाभित्र लुकाइएका ५०० दरका २०० थान र १ हजार दरका ५०० थान नोट बरामद भएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले उक्त रकमको स्रोत खुलाउन नसकेको र हुन्डी कारोबार भएको हुन्सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूको साथबाट यूपी ५६ एच १२०४ र यूपी ५६ एच २५७३ नम्बरका दुई भारतीय मोटरसाइकल पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत परासी बाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।