गृहपृष्ठ खबर जातीय विभेद गर्नेहरुलाई कडा कारबाही गर्नुपर्नेमा जोड

जातीय विभेद गर्नेहरुलाई कडा कारबाही गर्नुपर्नेमा जोड

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ६०औं जातीय भेदभाव (छुवाछुत) विरुद्धको अन्तरराष्ट्रिय रंगभेद दिवस भव्यताका साथ मनाईएको छ । उक्त दिवस बाणगंगा दलित सेवा समाजको आयोजना र बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार सिद्धार्थ क्याम्पसको सभाहलमा भव्यताका साथ मनाईएको हो ।

 

लुम्बिनी प्रदेश सांसद गिरीधारीलाल न्यौपानेले दलित समुदाय हरेक तहबाट सशक्त भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले अहिलेको समाज विगतभन्दा परिवर्तनशील भईसकेको यद्यमी दलितमाथिको विभेद पूर्णरुपमा अन्त्य नहुनु दुःखत भएको बताए । उनले फरक प्रसङ्गमा बोल्दै गणतन्त्रको विकल्प गणतन्त्र नै हुने जिकिर गरे । उनले जातीय विभेद गर्नेहरुमाथि कडा कारबाही हुनुपर्ने बताए ।

बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले नगरले दलित समुदायको सशक्तिकरण, क्षमता अभिवृद्धिको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताईन् । उनले जातीय विभेद अन्त्यका लागि हरेक अभिभावकले आफ्ना बालबालिकालाई शिक्षित बनाउनुपर्ने बताईन् ।

अधिकारको लागि स्वयम् दलित समुदाय नै अग्रसर हुनुपर्ने उनको भनाई छ ।

भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले राज्यका हरेक क्षेत्रमा दलित समुदायको प्रभावकारी सहभागिताको लागि थप प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले कागज र भाषणमा मात्र सिमित दलित हक अधिकारलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको बताए ।

उनले भूमिहिन दलितलाई प्राथमकितामा राखेर भूमि समस्या समाधान आयोग कपिलवस्तुले काम गरिरहेको बताए । उनले सरकारले ल्याएको भूमिसम्बन्धि अध्यादेश सदनबाट पारित हुने समेत दाबी गरे ।

नेकपा माओवादी केन्द्र कपिलवस्तुका संयोजक बिष्णु प्रसाद बेल्वासेले माओवादीले नै सर्वप्रथम दलितहरुको हक अधिकारीको सुनिश्चिताका निम्ति आवाज उठाएको दाबी गरे । उनले जातीयताका आधारमा विभेद गर्नेलाई आजीवन जेल सजाय हुनुपर्ने बताए ।

संविधान सभा सदस्य शेख प्रसाद थारु, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य दोणराज सुवेदी, बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष विष्णुप्रसाद पौडेल, कार्यापालिका सदस्य डिलबहादु खाती लगायतका वक्ताहरुले नेपालको वर्तमान संविधानमा उल्लेखित दलितका हकअधिकारको व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

पूर्णचन्द्र परियारको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अधिवक्ता गोमती सुनार दिपा ले नेपालमा दलित समुदायको अवस्था र कानुनी व्यवस्थाका बारेमा चर्चा गरेकी थिईन् ।

बाणगंगा दलित सेवा समाज कपिलवस्तुका अध्यक्ष टिकाराम सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिब पिताम्बर बि क ले स्वागत मन्तव्य राखेका थिए ।

 

सम्बन्धित् समाचार