गृहपृष्ठ खबर बाणगंगा- ७ मा आत्मनिर्भर बनाउन दलित महिलाहरुलाई पञ्चेबाजा तालिम

बाणगंगा- ७ मा आत्मनिर्भर बनाउन दलित महिलाहरुलाई पञ्चेबाजा तालिम

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले दलित महिलाहरुलाई पञ्चेबाजा तालिम दिएको छ । आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम अन्तर्गत वडाभित्रका १५ जना दलित महिलालाई समावेश गरि पञ्चेबाजा तालिम दिईएको वडा सचिव पुष्कर भुसालले जानकारी दिए ।

उनका अनुसार उक्त तालिमको आईतबार एक कार्यक्रमकाबीच समापन भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले तालिमबाट सिकेको ज्ञान, सिपलाई व्यवहारिक जीवनमा उपयोग गरेर आयआर्जनमा जोडिनुपर्नेमा जोड दिईन् ।

उनले विगतमा घरमै सिमित महिलाहरुको अवस्था पछिल्लो समय परिवर्तन हुदैं गएको बताईन् । उनले आफुहरुमा भएको पञ्चेबाजा सम्बन्धि सिपलाई बजारीकरण गरेर आगामी दिनमा उदाहरणीय बन्ने दिशातर्फ अघि बढ्न आग्रह समेत गरिन् ।

उनले सम्पूर्ण नगरवासीलाई सुखि र खुशी पार्ने नगरको मुख्य लक्ष्य रहेको बताईन् ।

बाणगंगा नगरपालिका वडा नं.७ का वडाध्यक्ष विष्णु गिरीले परम्परागत रुपमा चल्दै आएको संस्कृति, सिपको जर्गेना गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम गरिएको स्पष्ट पारे । उनले यस तालिमले महिलाहरुलाई आयआर्जन गर्ने बाटो खुला गरिदिएको र पञ्चेबाजाकै माध्यमबाट आत्मनिर्भर बन्ने सकिने बताए ।

उनले तालिममा सहभागी महिलाहरुलाई समूह बनाएर संगठित भई सक्रिय रुपमा अघि बढ्न सुझाव दिए । वडाले आगामी आर्थिक बर्षमा थप पञ्चेबाजा खरिदका लागि बजेट बिनियोजन गर्ने उनको प्रतिवद्धता छ । बाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य दिल बहादुर खातीले पुर्खौली रुपमा अंगाल्दै आएको पञ्चेबाजाको पेसालाई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले तालिमहरु तालिममा मात्र सिमित हुन नहुने भन्दै तालिमबाट हासिल गरेका ज्ञान, सिपलाई दैनिक जीवनमा रुपान्तरण गर्नुपर्ने बताए । सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्वअध्यक्ष तेजप्रसाद आचार्यले पञ्चेबाजाको बजारमा माग बढी रहेको भन्दै यसैबाट आर्थिक समृद्धि हासिल गर्ने आधार बन्न सक्ने बताए ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले यस पञ्चेबाजा महिलाहरुको समूहलाई थप व्यवस्थित र उत्कृष्ट बनाउन सक्ने सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । उनले वडाले दलित महिलाहरुलाई सहभागी गराएर सिप विकासको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

बाणगंगा नगरपालिका वडा नं.७ का वडा सदस्य पार्वती सुनारले तालिमले सहभागीहरुलाई एउटा आधार मात्र प्रदान गर्ने बताउँदै निरन्तर रुपमा अघि बढ्नुपर्नेमा जोड दिईन् ।

तालिममा सहभागीहरुले वडाले आफुहरुको आवश्यकतालाई मध्येनजर गरेर तालिम दिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

वडाध्यक्षमा विष्णु गिरीको अध्यक्षता तथा वडा सचिव पुष्कर भुसालको संचालनमा सम्पन्न उक्त समापन कार्यक्रममा वडा सदस्यहरु मुम बहादुर पाण्डे, सावित्रा थारु, आरटी खान लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार