वैखरी अनलाईन, बुद्धभूमि ।
नेपाली सेना र बुद्धभूमि नगरपालिकाद्धारा संचालित कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेले सर्पको टोकाईबाट बचाउन सचेतनामूलक कार्यक्रम गरेको छ ।
विगतमा सर्पको टोकाईपछि हुने सामान्य लापरवाहीले गर्दा धेरैको अकालमै ज्यान जाने गरेको घटनालाई मध्येनजर गर्दै यस कार्यक्रम गरिएको शमशेर दल गण गोरुसिंगे ब्यारेक गणपति प्रमुख सेनानी विदुरध्वज अधिकारी क्षेत्रीले जानकारी दिए ।
उनले बढी मात्रामा सर्पको जोखिम हुने स्थानलाई केन्द्रविन्दुमा राखेर गाउँगाउँमा माईकिङ्गसहित जनचेतना जगाउने काम गरिएको बताए ।
गर्मी मौसममा विशेषगरी सर्प जमिनको सतहमा निस्किने भएकाले जनस्तरमा सचेतनामूलक कार्यक्रमको आवश्यकता महसुस गरेर यो अभियान थालिएको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताए । ‘जमिनको सतहमा आउने क्रममा सर्प मानिसको घरघरमा पुग्न सक्छन् । त्यसैले सर्पको टोकाइबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्छ । विषालु सर्पले टोके मानिसको ज्यान समेत जान सक्छ,’ उनले भने ।
उनले तालतलैया, नदीनालामा विषालु सर्प हुन सक्ने हुँदा सावधानी अपनाउन आग्रह गर्दै सर्पले टोकेको अवस्थामा तुरुन्तै सर्पदंश केन्द्रमा गएर उपचार गर्न सबैलाई अपिल समेत गरे ।
सर्पको टोकाइबाट जोगिन सर्पलाई जिस्काउने वा चलाउने गर्नु हुँदैन । खेतबारीमा काम गर्दा गम्बुट जुत्ता लगाउनु पर्छ । सर्पले पहिला खुट्टा बेरेर खुट्टामै टोक्ने सम्भावना धेरै हुन्छ ।
च्यसैले सकेसम्म गम्बुट जुत्ता लगाउनु पर्ने कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेले जनाएको छ । सर्प खाना खान र पानीको खोजी गर्दै मानिसको घरमा आउन सक्छ । त्यसैले भुइँ वा जहाँ त्यहीँ खानेकुरा पोख्ने गर्नु हुँदैन । खाना तथा पानीका भाँडाहरू राम्रोसँग छोपेर राख्न सर्प दंश उपचार केन्दको आग्रह छ । सर्प मुसा खानका लागि पनि घर वा घर परिसरमा आउने हुनाले मुसा नियन्त्रणका उपायहरू अपनाउनु पर्छ ।
अँध्यारोमा जुत्ता लगाएर तथा टर्चलाइट बालेर हिँड्ने गर्नुपर्छ । झाडीमा जानु परे गमबुट लगाउन सर्प दंश उपचार केन्द्रले आग्रह गरेको छ ।
“सुत्दा ओछ्यानमा टकटक्याऔँ । झुल हाल्ने तथा पराल र दाउरा झिक्दा वा तान्दा सचेत होऔँ । घर वरिपरि सफा राख्ने गरौँ । घर वा घर वरिपरि मुसाका वा अरू दुलाहरू छन् भने तत्कालै टाल्ने वा पुर्ने गरौँ,” सर्प दंश उपचार केन्द्रले भनेको छ ।
सर्पदंशको प्राथमिक उपचार
सर्पले डसेको बेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो ऊ आफैँले पनि प्राथमिक उपचार गर्न सक्छ । डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नु पर्छ । काम्रो लगाएर भएपनि डसेको हात खुट्टा हल्लिन दिनु हुदैँन । पीडितलाई तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्याउनु पर्छ । मोटरसाइकलको प्रयोग गरेमा छिटो पुग्न सकिन्छ । बिरामीलाई सान्त्वना दिनुपर्छ किनभने धेरै डर लाग्नाले पनि मृत्यु हुने गरेको छ ।