गृहपृष्ठ खबर लुम्बिनी साँस्कृतिक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न : सुशासनमा जोड

लुम्बिनी साँस्कृतिक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न : सुशासनमा जोड

प्रकाशित मिति:

वैखरी अनलाईन, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरपालिकाको वडा नं.३ पडरियामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रश्नकर्ताहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सिंचाई, मल, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण, संचालित योजनाको अवस्था, जग्गा नापजाँच लगायतका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

प्रश्नहरुको जवाफ दिदैं नगरप्रमुख सजरुद्धिन मुसलमानले नगरले विगतमा भन्दा उल्लेख्य प्रगति हासिल गरेको बताए । नगरले शिक्षाको गुणस्तरियता अभिवृद्धि गर्न आवश्यक पूर्वाधारसंगै शिक्षक, अभिभावकलाई अभिमुखिकरण गरिरहेको बताए । विगतको नतिजाभन्दा अबको नतिजा सुधारोन्मुख हुने उनले जिकिर गरे ।

नगरका सबै वडामा स्वास्थ्य केन्द्रमा सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न नगर लागिपरेको उनले बताए । उनले कुनै एक जनाले प्रयासले मात्र नगर समृद्ध बन्न नसक्ने भन्दै उनले नगरमा हुने गरेका विकास निर्माणका काममा एकबद्ध हुनुपर्ने बताए ।

नगरउपप्रमुख कल्पना हरिजनले यस क्षेत्रमा कृषकको बसोबास बढि रहेकाले विगतदेखि नै अन्य पालिकामा भन्दा यस पालिकामा आवश्यकताको आधारमा मल ल्याउन पहल गरिरहेको बताईन् ।

मलको समस्या राष्ट्रव्यापी समस्या भएको भन्दै उनले यसको समाधान केन्द्र सरकारबाटै हुन आवश्यक रहेको बताईन् । लक्षितवर्गका कार्यक्रमलाई प्रभावकारी बनाउन र त्यसको परिणामको लेखाजोखा गर्ने काम निरन्तर भईरहेको उनले बताईन् । उनले नगरबाट संचालित योजनाको प्रभावकारी रुपमा अनुगमन गरि कामको गुणस्तरमा कुनै सम्झौता नगरिने जिकिर गरिन् ।

प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगरलाई समृद्ध बनाउन सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताईन् । उनले विभिन्न निकायसंग सहकार्य गरेर नगर फोहोरमैला व्यवस्थापनको कामलाई प्रभावकारी र दिगो बनाउन लागेको बताईन् । सार्वजनिक जग्गा अतिक्रमण गर्न पूर्ण रुपमा गलत भएको भन्दै उनले त्यस्तो हुन नदिईने बताईन् । उनले आगामी दिनमा नगरमा वडास्तरदेखि पालिकास्तरसम्म तहगत रुपमा खेलकुदका गतिविधि गरिने बताईन् ।

उनले भूमि सम्बन्धि समस्या समाधान आयोगसंग आवश्यक सहकार्य गरेर लुम्बिनीमा पनि जग्गा नापजाँचको काम थालनी गरिने बताईन् । उनले नगरपालिका सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताईन् ।

पालिकामा सुशासन र पारदर्शिता कायम गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताईन् । उनले आफुलाई जुनसुकै बेला पनि पालिकाप्रतिको जिज्ञासासंगै सकारात्मक सल्लाह, सुझाव दिन सक्ने बताए ।

वैखरी मिडिया प्रा.लि.का प्रधान सम्पादक अशोक पौडेलले नागरिक प्रतिवेदन र बहिरगर्मन अभिमत प्रस्तुत गरेको उक्त कार्यक्रममा शाखा प्रमुखहरुले समेत आफुसंग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए ।

वैखरी मिडिया प्रा.लि.का कार्यकारी सम्पादक सागर विकको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका समन्वयकर्ता तुल्सीराम लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित् समाचार