सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवस्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले कपिलवस्तु बालगृह तौलिहवालाई दराज हस्तान्तरण गरेको छ ।
वनले मंगलबार बालगृहमै पुगेर बालगृह व्यवस्थापनका लागि ६ ओटा दराज हस्तान्तरण गरेको वनकी सचिव सुष्मा खाँणले जानकारी दिईन् ।
आर्थिक बर्ष २०८१÷०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बालगृहलाई सहयोग गरिएको उनले बताईन् ।
वनका अध्यक्ष सुसिलसिंह ठकुरीले बालगृहको आवश्यकतालाई पहिचान गरि सहयोग सामग्री स्वरुप दराज हस्तान्तरण गरिएको स्पष्ट पारे । यसले बालबालिकाहरुलाई आफ्ना अत्यावश्यक सामग्रीहरु व्यवस्थापन गर्न सहज हुने उनको विश्वास छ । ‘कपिलवस्तु बालगृहलाई विगतदेखि नै मैले नजिकबाट नियाल्ने अवसर पाएको छु । यहाँको आवश्यकतालाई राम्रोसंग बुझेको छु । सोही क्रममा यो सहयोग प्रदान गर्ने अवसर जुटेको हो,’ उनले भने ।
उनले श्रृङ्गीघाट सामुदायिक वनको यो प्रयासले समग्र समाजमा सकारात्मक सन्देश प्रवाह हुनुको साथै अन्य निकायलाई समेत बालगृहलाई सहयोग गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । असहाय, अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि सबै सरोकारवालाहरुको साथ आवश्यक रहेको उनको भनाई छ ।
उनले श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षण, संवद्र्धन तथा व्यवस्थापनसंगै मानवीय तथा सामाजिक क्षेत्रमा अग्रसर भएर काम गर्दै आएको बताए ।
बालगृहका अध्यक्ष गोपालमणी ज्ञवालीले श्रृङ्गीघाट सामुदायिक वनले बालगृहलाई विगतदेखि नै भौतिक, आर्थिक र नौतिक रुपमा सहयोग गर्दै आएको स्मरण गरे । उनले वनको यो सहयोगप्रति सदैव ऋणि रहने बताउँदै बालबालिकालाई आफ्ना लत्ताकपडा, कापीकलम राख्न अब थप सहज हुने बताए ।
उनले कपिलवस्तु बालगृहले हाल ३२ जना बालकहरुलाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको बताए । बालगृहलाई गरिएको यस सहयोगले बालबालिकाको सुखद जीवन र व्यवस्थित बसाईको व्यवस्थापन गर्न सहज हुने उनको भनाई छ ।
उनले श्रृङ्गीघाट सामुदायिक वन कपिलवस्तु जिल्ला हुदैं लुम्बिनी प्रदेशकै एक उत्कृष्ट सामुदायिक वनका रुपमा स्थापित भएको बताए ।
उक्त कार्यक्रममा वनका पदाधिकारीसहित बालगृहका पदाधिकारी, कर्मचारीसहित बालबालिकाहरुको सहभागिता रहेको थियो ।