गृहपृष्ठ खबर एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

प्रकाशित मिति:

काठमाण्डौ – मौसम अनुकूल भएसँगै हिजो एकैदिन एक सय ३५ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

वसन्तयामको आरोहणमा एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको आधारशिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले हिजो धेरै आरोहीले सगरमाथा चढेका हुन् ।

सगरमाथा आरोहणको शुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म दुई सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको र आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच फोटो पत्रकारसमेत रहनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौं पटक सगरमाथा आरोहण गर्नुभएको छ । श्रेष्ठले हिजो बिहान सगरमाथाको चुचुरोमा पाँचौं पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ ।

श्रेष्ठले गएको वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

सम्बन्धित् समाचार