सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले सामाजिक सचेतना जगाउने अभियानमा नगरपालिका लागेको बताउनुभएको छ । भौतिक विकासले मात्र नगरमा विकास र समृद्धि नआउने भन्दै नगरप्रमुख श्रेष्ठले अब भौतिक विकाससंगै सामाजिक सचेतनामार्फत नागरिकलाई जागरुक बनाउनेतर्फ नगर रहेको बताउनुभयो ।
मंगलबार बुद्धभूमि नगरपालिकाको आयोजना, कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको सहजीकरणमा भएको लैङ्गिक हिंसा, बाल विवाह र ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
विगतमा भन्दा अहिले महिलाहरु समाजका हरेक क्षेत्रमा अग्रसर भईरहेको बताउँदै उहाँले भन्नुभयो, ‘तुलनात्मक रपमा अहिले महिलाहरु नेतृत्वदायी भूमिका निर्वाह गर्ने दिशातर्फ अगाडि बढिरहेका छन् । त्यसका लागि पुरुषले सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ ।’
उहाँले बुद्धभूमि नेपालमै पहिलो बालविवाह मुक्त पालिका घोषणा भईसकेको स्मरण गर्नुभयो ।
नगरले बालविवाहलाई पूर्णरुपमा रोक्न विगतदेखि नै उल्लेख काम गर्दै आएको उहाँको भनाई छ । उहाँले ट्राफिक नियम उल्लघन गर्दा यस क्षेत्रका घरपरिवारले ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो ।
मुख्यतः युवाहरुले मोटरसाईकल चलाउँदा लापरबाही गर्नाले सवारी दुर्घटना हुने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । यस्ता कार्यक्रममले युवापंक्तिसंगै सिंगो समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको विश्वास छ ।
बुद्धभुमी नगरपालिका वडा नं.४ वुड्ढिस्थित सभाहलमा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक वनहरुका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।