तौलिहवा ।
कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ शुक्रबार ३० गते साँझ हुन लागेको एग्रीवस्तु कृषि तारा–२०८२ प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको छ । वैशाख मसान्तसम्म आवेदनको म्याद तोकिएको यस प्रतियोगितामा जिल्लाका पालिकाहरुबाट ९० वटा आवेदन फारम प्राप्त भएका थिए ।
मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कार प्राप्त गर्नेहरु छानिने क्रममा रहेका छन् ।
मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषि विद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका थिए् । ९० जना कृषक मध्येबाट उत्कृष्ट ५ जना र सान्तवना पुरस्कार प्राप्त गर्ने ५ जनाको नाम बुद्धभूमि–१० स्थित एग्रीवस्तु कोल्ड स्टोरेज प्रालिको प्राङगणमा भव्य समारोहका बीच सार्वजनिक गरिने संयोजक शुक्लले जानकारी दिए ।
संयोजक शुक्लाले निष्पक्ष र प्रभावकारी ढङ्गले मूल्याङ्कन गरिएको बताउँदै यस प्रतियोगिताले किसानहरूलाई प्रोत्साहन गर्ने र कृषि पेसालाई थप सम्मानित बनाउने विश्वास व्यक्त गरे। कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर पौडेलले यो पहिलो पटक आयोजना हुन लागेको कार्यक्रमले किसानहरूलाई ठूलो हौसला प्रदान गर्ने बताए। त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझाले कृषकहरूको मूल्याङ्कन जटिल भए पनि कसैलाई काखापाखा नगरी निष्पक्ष रूपमा गरिएको जानकारी दिए ।
समितिका सदस्य खुर्सेद अहमद खाँले कृषि पेसालाई सम्मान गरौँ भन्ने नाराका साथ कपिलवस्तुमा यो कार्यक्रम हुनु खुसीको कुरा भएको बताउँदै मूल्याङ्कन निष्पक्ष रुपमा गरिएको बताए ।
एग्रीवस्तु प्रा।लि।का प्रबन्ध निर्देशक आशिष शर्माले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले यस प्रतियोगिताले कृषि पेसालाई थप सम्मानित र आकर्षक बनाउने विश्वास व्यक्त गरेका छन्।
यो कार्यक्रमले कपिलवस्तुमा कृषि क्षेत्रमा सक्रिय कृषक, वैदेशिक रोजगारबाट फर्केर कृषिमा लागेका युवा र महिला कृषकहरूलाई विशेष सम्मान गर्ने लक्ष्य राखेको छ।
शर्माले उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कारसमेत प्रदान गरिने र यसले उनीहरूलाई कृषि पेसामा थप उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे। कृषि नै नेपाली अर्थतन्त्रको मेरुदण्ड, आशा, भरोसा र भविष्य हो, र कृषक यसका वास्तविक साधक हुन्, शर्माले भने, यही मूल मन्त्रका साथ कपिलवस्तुका कृषकहरूलाई सम्मान गर्ने उद्देश्यले एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ आयोजना गर्न लागेको बताए । शर्माले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको र सबैलाई निमन्त्रणा गरी सकिएको कथमकथाचित निमन्त्रण प्राप्त नभएको भए यसैलाई आधार मानी कार्यक्रमका सहभागि भई दिन आग्रह गरे ।
कृषि पेसामा लागेर केही हुँदैन भन्ने नकारात्मक सोच समाजमा अझै पनि व्याप्त रहेको भन्दै शर्माले यो कार्यक्रमले यस्तो भाष्यलाई चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
सम्मान अन्तर्गत ३ वटा विधाहरुमा ५ जना कृषकलाई सम्मान गरिने छ भने ५ जनालाई सान्तवना पुरस्कार प्रदान गरिने छ । शर्माका अनुसार कृषि तारा प्रथम, द्वितीय, तृतीय, विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकलाई सम्मान गरिने छ । कृषि तारातर्फ प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार प्राप्त गर्ने छन् भने विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकले पुरस्कार स्वरुप ५०–५० हजार प्राप्त गर्नेछन् । दीपकुमार उपाध्याय फाउन्डेसन प्रमुख आयोजक रहेको कपिलवस्तुमा पहिलो पटक हुन लागेको यो एग्रीवस्तु कृषि तारा २०८२ ले कृषकहरूमा नयाँ उत्साह र ऊर्जा थप्ने अपेक्षा गरिएको छ।