सागर वि.क., वैखरी अनलाईन ।
शैक्षिक गुणस्तरियतालाई थप अभिवृद्धि गर्ने उद्देश्यसहित बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले विद्यालयमै पुगेर विधार्थीहरुको आवश्यकता पहिचान गर्नुभएको छ । नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग नगरप्रमुख अर्यालले ‘विधार्थीसंग मेयर कार्यक्रम’ मार्फत उनीहरुका समस्या, जिज्ञासा, सुझाव र आवश्यकता पहिचान गर्नुभएको हो ।
‘विद्यार्थीसँग मेयर’ कार्यक्रममा शैक्षिक सुधार, गुणस्तरीय शिक्षादेखि स्थानीय विकाससंग सम्बन्धित विषयहरुमा विधार्थीहरुले प्रश्न गरेका थिए । यस्तै विद्यार्थीहरुले नगरले शिक्षा क्षेत्रमा गरेका गतिविधि, लगानी, शैक्षिक सुधार, व्यवस्थापन, अनुगमन र नतिजाको विषयमा सवाल उठाएका थिए ।
विद्यार्थीहरुले उठाएका विविध सवालको जवाफ दिँदै मेयर चक्रपाणी अर्यालले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सीमित साधन र स्रोतका बाबजुद पनि शैक्षिक सुधारको थालनी भइरहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै गएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘जनता मावि पिपरा, बाणगंगा मावि लौगाई जस्ता सामुदायिक विद्यालयहरु अहिले उत्कृष्ट विद्यालयका रुपमा परिचित छन् । यी विद्यालयले गुणस्तरीय शिक्षाको उदाहरण देखाएका छन् ।’
उहाँले पढ्नबाट वञ्चित भएका गरिब तथा विपन्न विद्यार्थीलाई नगरले छात्रवृत्रि दिएर अध्ययन गर्ने वातावरण बनाएको बताउनुभयो । ‘शैक्षिक क्षेत्रमा भएका विकृति र त्रुटिहरुलाई सचेत विद्यार्थीले औँल्याउन सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘शैक्षिक क्षेत्रको कमी–कमजोरी हटाउन र समस्या समाधान गर्न हामी चौबिसैघन्टा तत्पर छौँ ।’
मेयर अर्यालले अध्ययन अध्यापनका क्रममा आइपर्ने कुनै पनि समस्या भएमा आफूलाई फोन, म्यासेजमार्फत जानकारी गराउन अनुरोध गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने ध्येयका साथ स्थानीय सरकार लागेको र त्यसमा बाणगंगा नगरपालिका सफल भएको बताउनुभयो ।
‘आर्थिक समस्याकै कारण पढ्न नसकेका विद्यार्थीको जिम्मा नगरपालिकाले लिन्छ यसमा ढुक्क हुनुस्,’ उहाँले भन्नुभयो ।
विद्यार्थीहरु लागूऔषध, मद्यपान र धूमपानको कुलतमा फस्दै गएको समस्याबारे सोधिएको जिज्ञासामा मेयर अर्यालले पछिल्लो समय बाणगंगामा लागूपदार्थ दुव्र्यसनीको प्रभाव क्रमिक रुपमा न्युन हुदैं गएको बताउनुभयो । उहाँले यस समस्याबारे नगरपालिका चिन्तित रहेको र कुलतमा फसेका युवाहरुलाई प्रहरीसँगको साझेदारीमा टिम नै तयार गरी दुव्र्यसनविरुद्ध अभियान चलाउन लागिएको बताउनुभयो ।
लागूपदार्थको दुव्र्यसन, हरेक प्रकारका हिंसाबारे सचेतना फैलाउन विद्यालयस्तरमा शैक्षिक पाठ्यक्रममै समावेश गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
मेयर अर्यालले पछिल्लो समय विद्यालयका भवनहरु अपाङ्गमैत्री बन्दै गएको र अपाङ्गता भएका विद्यार्थीका लागि नगरपालिकाले पढ्ने व्यवस्था मिलाएको बताउनुभयो । अब अपाङ्गताकै कारण कोही पनि अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने उहाँको भनाइ थियो ।
विद्यालयको शैक्षिक सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेको बताउँदै नगरप्रमुख अर्यालले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न कार्यक्रम महत्वपूर्ण सावित भएको जनता मावि पिपराका प्रअ रमेश पन्थीले बताउनुभयो ।
बाणगंगा मावि लौगाईका प्रअ कुलराज पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने बताउनुभयो ।