सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख अर्यालले बाणगंगालाई लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिका बनाउने गरि काम गरिरहेको बताउनुभएको छ । विहिबार नगरको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताउनुभएको हो ।
‘अहिले हाम्रो प्रतिस्पर्धा जिल्लामा नभई प्रदेशमा हो । समग्र कपिलवस्तुको नेतृत्व गर्दै विकास निर्माणका काममा लुम्बिनी प्रदेशका १०९ ओटा स्थानीय तहमध्ये उत्कृष्ट पालिका हुने प्रतिस्पर्धा हो । सोही अनुरुप पालिकाले भौतिक विकाससंगै सामाजिक र आर्थिक विकासका क्षेत्रमा काम गरिरहेको छ,’ उहाँले भन्नुभयो ।
विभिन्न सुचक निर्माण गरेर पालिकालाई वर्गीकरण गर्न प्रदेशलाई सुझाव दिईएको उहाँले बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपत व्यवस्थापन, महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनुभयो ।
उहाँले हालै मात्र प्रकाशित एसईईको नतिजामा ४ जिपिए सहित १६ जना विधार्थीहरु उतीर्ण भएको प्रसंग उल्लेख गर्दै यसले बाणगंगाका विद्यलायको शिक्षाको गुणस्तरलाई स्पष्ट रुपमा संकेत गर्ने बताउनुभयो । नगरले संचालन गरिरहेको पिपरा अस्पताललाई अत्याधुनिक बनाउने दिशातर्फ नगर अघि बढेको उहाँले बताउनुभयो ।
उपप्रमुख रिता कुमारी चौधरीले आगामी आर्थिक बर्षमा बाणगंगाले भौतिक पूर्वाधारसंगै सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले नगरवासीको जीवनस्तर तुलनात्मक रुपमा धेरै परिवर्तन भएको बताउँदै सार्वजनिक रुपमा आएका सुझावलाई ग्रहण गरेर नगर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरको प्रशासनिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँले हालसम्म नगरले ८० प्रतिशत बढी प्रगति हासिल गरेको बताउनुभएको थियो ।
पत्रकार पिताम्बर घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, ११ ओटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसी, नगरका कर्मचारी, उद्योगी, व्यवसायी, समाजसेवी तथा नगरवासीको उपस्थिति रहेको थियो ।