गृहपृष्ठ खबर रोहिणीका एसईई उत्तीर्ण विद्यार्थीहरुले गाउँपालिकाबाट पाए साइकल

रोहिणीका एसईई उत्तीर्ण विद्यार्थीहरुले गाउँपालिकाबाट पाए साइकल

प्रकाशित मिति:

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो ।

२०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामुदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

उनले आगामी दिनमा पनि साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए । ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साइकल वितरण गरिएको हो’, उनले भने ।

अघिल्लो वर्षभन्दा यस वर्ष सामुदायिक विद्यालयको नतिजामा सुधार आएको उनको भनाइ छ ।

श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रकुमार यादवले गाउँपालिकाले वितरण गरेको साइकलले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताए ।

एसईईमा ३.६६ जीपीए ल्याएर गाउँपालिका पहिलो भएकी छिपागढ माविकी अस्मिता यादवले गाउँपालिकाबाट साइकल पाएपछि आत्मबल बढेको सुनाइन् । एसईईमा ३.६५ जीपीए ल्याउने पिपरहवा माविकी साधना यादव गाउँपालिका दोस्रो भएकी छन् ।

सम्बन्धित् समाचार