वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा अवस्थित नवप्रभात सामुदायिक वन उपभोक्ता समूहले वातावरण संरक्षणसँगै सामाजिक तथा सांस्कृतिक सशक्तीकरणमा पनि सक्रिय भूमिका खेलेको छ ।

समूहले मंगलबार सम्पन्न आफ्नो १५औं वार्षिक साधारण सभाका अवसरमा युवाहरुलाई खेलकुद सामग्री र स्थानीय भजन मण्डलीलाई बाद्यबादनका सामग्री वितरण गरेको हो ।
कार्यक्रममा युवाहरुलाई क्रिकेट ब्याट, बललगायतका खेलकुद सामग्री, र भजन मण्डलीलाई मादल, खैजडी र मजुरा हस्तान्तरण गरिएको समूहका अध्यक्ष डिल्लिराज रेग्मीले जानकारी दिनुभयो ।
अध्यक्ष रेग्मीका अनुसार, खेलकुद सामग्री वितरणको उद्देश्य युवा पुस्तालाई अनुशासन, स्वास्थ्य र समाजप्रतिको उत्तरदायित्वमा जोड्ने रहेको छ । उहाँले वन संरक्षणसँगै सामाजिक, सांस्कृतिक र शारीरिक विकासलाई सँगसँगै अघि बढाउने समूहको नीति रहेको पनि बताउनुभयो ।

कार्यक्रम सचिव सिता भुसालको सञ्चालनमा सम्पन्न भएको थियो भने उपाध्यक्ष मित्र कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सो क्रममा उपाध्यक्ष कँडेलले वन संरक्षण र सम्बर्द्धनलाई प्राथमिकतामा राख्दै समाज रुपान्तरणमा वनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सबै सरोकारवालाको सहकार्यबाट वनमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।










