युक्रेनलाई पराजित गर्दै फ्रान्सले फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ। बिहिबार राति भएको यूईएफए विश्वकप छनोटअन्तर्गत समूह डी को खेलमा फ्रान्सले युक्रेनमाथि ४–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो।
फ्रान्सको जितमा केलियन एमबाप्पेले दुई गोल गरे। माइकल ओलिसे र ह्युगो एकिटिकेले समान एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै दोस्रो हाफमा सम्भव भयो। खेलको ५५ औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गरे।
त्यसअघि खेलको ७६ औँ मिनेटमा ओलिसेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। ८८ औँ मिनेटमा एकिटिकेको गोलमा फ्रान्सले ४–० को अग्रता लिएको थियो।
जितसँगै समूह डी मा रहेको फ्रान्स अंक तालिकाको शीर्ष स्थानमा छ। फ्रान्सले समूह चरणका पाँच खेल खेल्दा ४ खेलमा जित र एक खेलमा बराबरी गर्दै १३ अंक बनाएको छ।
दोस्रो स्थानमा रहेको आइसल्यान्ड र तेस्रो स्थानको युक्रेनको समान सात अंक छ। चार खेलमा हार र एक खेलमा अंक बाँडेको अजरबैजन १ अंकका साथ तालिकाको पुछारमा छ







