रुपन्देही जिल्लामा पछिल्लो समयमा ठुलो सङ्ख्यामा नयाँ मतदाताहरूले नाम दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृत कल्पना अर्यालले दिएको जानकारी अनुसार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा यो सङ्ख्या थपिएको हो ।
असोज १० गते देखि मङ्सिरको ५ गते सम्म चलेको मतदाता नामावली सङ्कलनमा जिल्लामा २९ हजार ८ सय ४२ जना नयाँ मतदाताहरू थपिएका छन् ।
यस मध्ये राष्ट्रिय परिचयपत्रबाट १७ हजार ६ सय ३४ जना र निर्वाचन कार्यालय रुपन्देहीमै पुगेर १२ हजार २ सय ०८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको अर्यालले जानकारी दिइन ।
कार्यालयमै पुगेर दर्ता गराएका मध्ये पनि १० हजार ३ सय २२ जना रुपन्देही जिल्लाकै र १ हजार ८ सय ८६ जना अन्य जिल्लाका मतदाताको नाम सङ्कलन गरिएको थियो ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको लागि निर्वाचन तोके पनि विशेष कानुन ल्याउँदै मतदाता नामावली सक लन गरेको थियो । सुरुमा सेवाग्राहीले आफै अनलाइन फारम भरि उक्त फारम प्रिन्ट गरेर नजिकको कार्यालयमै पुगेर बायोमेट्रिक गराउनु परेको थियो ।
कार्तिक २७ गते देखि सरकारले राष्ट्रिय परिचय पत्रमै उल्लेख भएको तथ्याङ्क प्रयोग गरी मतदाता नामावली सङ्कलन सुरु गरेपछि मतदाता नामावलीमा दर्ता गराउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको थियो ।
असोज १० गते अघि रुपन्देहीमा महिला ३ लाख १३ हजार ६०७, पुरुष ३ लाख ३० हजार ७४१ र अन्य ८ जना गरी कुल कुल ६ लाख ४४ हजार ३ सय ५६ मतदाता थिए । अहिले मतदाता नामावली सङ्कलन कार्य अद्यावधिक गर्ने काम गर्ने भइरहेकोले रुपन्देही जिल्लामा हालको मतदाता सङ्ख्या आउन केही समय लाग्न सक्ने अर्यालको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीको सूचना अधिकारी कल्पना शर्माका अनुसार अहिले सङ्कलन भएका मतदाता नामावलीको त्रुटि सच्याउने, रुजु गर्ने, राष्ट्रिय परिचयपत्र मार्फत दर्ता हुन आएका मतदाताहरूको रिक्वेष्टलाई एप्रुभ गर्ने, नामावली संशोधन लगायतका काम भइरहेको छ ।
शर्माले भनिन् “३–४ दिनमै यो काम सकिन्छ, अनि हामीले अनुसूची ६ र अनुसूची २ मा काम गरे ठाउँ सार्नुपर्ने भए ठाउँ सार्ने लगायत संशोधनका कामहरू सकिएपछि अद्यावधिकको काम हुन्छ ।”
निर्वाचन आयोगले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
आयोगको मिति २०८२ कार्तिक ३० गतेको बैठकबाट भएको निर्णय अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ ।
सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति २०८२/०८/२० गतेदेखि सञ्चालन हुनेछ । सो कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्नुपर्नेछ, मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पौष १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।








