प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो जलाएका छन्।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिले मुस्लिम महिलाको मानमर्दन गरेको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।
पकडी चोकमा भेला भएका मुस्लिम अगुवा तथा स्थानीयले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला जलाएका थिए।
यसैगरी, सोही विषयलाई लिएर सदरमुकाम तौलिहवामा पनि मुस्लिम अगुवाहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति खेदजनक रहेको बताउँदै तत्काल फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखे।
विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता अतहर कमालले प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम महिलाको मर्यादा र पहिचानमा प्रहार गरेको आरोप लगाए।
उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम समुदायलाई गलत रूपमा चित्रित गरेको छ। यो केवल एक समुदायमाथि मात्र नभई राष्ट्रको बहुलवादी मूल्यमाथि नै प्रहार हो।’
त्यस्तै, मुस्लिम अगुवाहरू रउफ अहमद खाँ र हजरत अलीले देशको कार्यकारी प्रमुखबाट आएको यस्तो अभिव्यक्ति गलत भएको भन्दै यसलाई तत्काल सच्याउन माग गरे।
विरोध प्रदर्शनपछि मुस्लिम अगुवाहरूको टोलीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतममार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा प्रधानमन्त्रीको अभिव्यक्तिले धार्मिक तथा सामाजिक सहिष्णुतामा खलल पुर्याएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराइएको छ।







