गृहपृष्ठ Featured अबदेखि गुल्मी प्रशासनमा छुट्टै निवेदन लेख्न नपर्ने !

अबदेखि गुल्मी प्रशासनमा छुट्टै निवेदन लेख्न नपर्ने !

१२ मंसिर, गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीमैत्री व्यवस्था लागू गर्दै अबदेखि वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा छुट्टै निवेदन लेखिरहनुपर्ने झन्झट अन्त्य गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीले अनावश्यक समय, पैसा र श्रम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रक्रिया सहज, सरल र छिटो पार्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको स्पष्ट गरेको छ ।

अघिल्लो व्यवस्था अनुसार सिफारिस लिएर कार्यालय पुगेपछि पुन: निवेदन लेख्नुपर्ने बाध्यता थियो, जसका कारण सेवाग्राहीले निवेदन लेखाउने र थप शुल्क तिर्ने समस्यासँगै समय खेर जाने अवस्था सिर्जना हुँदै आएको थियो ।

अब भने वडा कार्यालयको सिफारिस पत्रमै उल्लेखित व्यहोरा ठिक साँचो हो, फरक परेमा प्रचलित कानून बमोजिम सहुँला बुझाउँला भन्ने उल्लेख गरी सहीछाप गराइयो भने सोही आधारमा सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

यस व्यवस्थाले विशेषगरी टाढा–टाढाबाट आउने लेखपढमा कमजोर तथा आर्थिक रूपमा कमजोर सेवाग्राहीलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ । कार्यालयले थप निवेदन लेख्न नपर्ने भए पनि सम्बन्धित सेवाका लागि आवश्यक दस्तुर (हुलाक टिकट) र चाहिने अन्य कागजातहरू भने अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।

सहज सेवा प्रवाहका लागि कार्यालयले आफ्नो सहायता कक्ष मार्फत आवश्यक जानकारी र सहयोग उपलब्ध गराउनेछ । सेवाग्राहीलाई अनावश्यक खर्च र समय नलाग्ने गरी प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने यो प्रयास नागरिकमैत्री कदमको रूपमा लिइएको प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार