आफ्नो एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न नेकपा एमालेले आज देशैभर निर्वाचन गरिरहेको छ।
त्यसका लागि अहिले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ।
यसैबीच एमाले सचिव गोकर्ण विष्टले पार्टी पुनर्गठनमा मद्दत पुग्ने गरी प्रतिनिधि चयन गर्न नेता-कार्यकर्तालाई आह्वान गरेका छन्।
‘आदरणीय कमरेडहरू, तपाईंहरू आज हाम्रो पार्टीको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ। हामीले यतिबेला देशमा देखापरेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरी बलियो बनाउनु पर्नेछ’, सचिव विष्टले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहनाअनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु।’
विष्ट एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्वराष्ट्रपति विद्या भण्डारीको समूहबाट महासचिव पदका एक इच्छुक उम्मेदवार हुन्।
यही मंसिर २७-२९ गते काठमाडौँमा हुने एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभर प्रतिनिधि छान्न लागेको हो।
यसका लागि मंसिर ११ गते सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भइसकेको छ। कतिपय निर्वाचन क्षेत्रमा त्यही दिन सहमतिमा प्रतिनिधि छानिए पनि बाँकी क्षेत्रमा आज मतदान गरेर छनोट गर्न लागिएको हो।
विभिन्न जिल्लाले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि छानिँदै छन्।
यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन्।
मनोनीतसमेत गरेर एमालेको एघारौँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्।
प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्ताव पार्टी सचिवालयले यसअघि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ।
एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ।
यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ। यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए।
दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्।
जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ।







