घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १४ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा यस वर्ष पनि बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । विजयनगर आधारभूत अस्पताल बद्धौरमा मंसिर २२ गते साेमबारका दिन रक्तदान कार्यक्रम हुन लागेकाे हाे ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र नेकपा (एमाले) विजयनगर गाउँ कमिटीको संयुक्त आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा रक्तदान कार्यक्रम हुने भएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रक्त अभावका कारण उपचार नै रोकिनुपर्ने बाध्यता हटाउन स्थानीय तहमै नियमित रक्तदान कार्यक्रम आवश्यक रहेको बताए । उनले यस अभियानलाई गाउँपालिकाले निरन्तर समर्थन गर्दै आएको बताए ।
यस्तै गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले रक्तदान जीवनदानकाे मर्मलाई आत्मसात गर्दै रक्तदान मानव सेवाको सबैभन्दा पवित्र कार्य भएको बताए ।विजयनगरका युवाले सामूहिक रूपमा गरेको यो पहल प्रशंसनीय रहेको उनकाे भनाई छ ।
यसैगरी राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष तैलेश्वर खटिकले युवाहरू समाज सेवामा सक्रिय हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यस पटक पनि बृहत रक्तदान कार्यक्रम आयाेजना गर्न लागेको बताउँदै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरे ।
मंसिर २२ गते आयोजना हुने यस कार्यक्रममार्फत रक्त व्यवस्थापन सुदृढ हुने तथा समाज सेवामा युवाको सहभागिता अझ बढ्ने अपेक्षा राखिएको नेकपा (एमाले) विजयनगर गाउँ कमिटीका सचिव गाेकर्ण प्रसाद सापकोटाले बताए ।






