गृहपृष्ठ Featured बालेनको कुलमानलाई वचन : रास्वपा नआए पनि तपाईंलाई मेरो साथ रहन्छ, अघि बढ्नू

बालेनको कुलमानलाई वचन : रास्वपा नआए पनि तपाईंलाई मेरो साथ रहन्छ, अघि बढ्नू

भनिन्छ, हजार शब्दमा भन्न नसक्ने कुरा एउटा तस्बिरले बोल्छ। ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहसँग एउटै सोफामा बसेको तस्बिर सार्वजनिक गरे।

उज्यालो नेपाल पार्टी निर्माणमा खटिएका घिसिङ शनिबार बेलुकी बालेन्द्रको निवास तीनकुने पुगेर छलफल गरेका थिए।

‘मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको हो,’ उनेपा गठनमा सक्रिय रहेर काम गरिरहेका गणेश घिसिङले भने।

छलफल सकेपछि उनेपाका नेताहरूलाई कुलमानले यसबारे ब्रिफिङ गरे। तर, घिसिङले बालेनसँग भेट भएको कुरा भोलिपल्ट आइतबार बेलुका मात्र सार्वजनिक गरे।

किन त? 

फागुन २१ गते हुने चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने अन्तिम समय आइतबार बेलुकी ५ बजेसम्म थियो। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर जाने विषयमा निर्णायक छलफल गर्ने भन्दै उनेपाका नेताहरू निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग गएका थिएनन्।

आइतबार रास्वपासँग छलफल गरेर टुंगो लगाएपछि मात्र जाने उनीहरूको योजना थियो। त्यसैले उनीहरूले एउटै दल बनाउने, रास्वपाकै चुनाव चिह्न राख्ने तर नाम र सांगठनिक संरचनाबारे छलफल गरेर टुंगो लगाउन सकिने प्रस्ताव पठाए। उनेपाका नेताहरूले रास्वपालाई एउटै दल बनाउन हदैसम्मको लचक हुन सकिने सन्देश पनि पठाए।

आइतबार अपराह्नसम्म सहमति गर्ने प्रतीक्षामा उनीहरू थिए। तर, रास्वपासँगको संवाद अघि बढेन।

त्यसपछि, उनेपाले निर्वाचन प्रयोजनको लागि आयोग पुगेर दल दर्ताको निवेदन दियो।

त्यसको केही घण्टापछि कुलमान घिसिङले आफ्नै फेसबुकमार्फत मेयर बालेन्द्र शाहसँग बसेको तस्बिर सेयर गर्दै लेखे– ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’

मेयर शाहले भने- अघि बढ्नुस् 

निकटस्थहरूका अनुसार एक महिनायता मेयर बालेन्द्र शाह र मन्त्री कुलमानबीच पटकपटक भेटवार्ता भएका छन्। टेलिफोनमा पनि बाक्लै संवाद भइरहेको छ।

हुन त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदादेखि नै कुलमान र मेयर बालेनबीच भेटघाट हुन थालेको हो। कार्यकारी निर्देशकबाट हटाइएपछि राजनीतिक मञ्चमा आउने तयारीमा रहेका कुलमानले बालेनसँग भेटेर यसबारे छलफल थालेका थिए। जेनजी आन्दोलनपछि मन्त्री बनेर आक्रामक काम गर्न थालेपछि बालेन्द्र र कुलमानको छलफल बाक्लिएको निकटहरू बताउँछन्। तर, त्यसअघिका भेटवार्ताका कुनै तस्बिर पनि कुलमानले बाहिर ल्याउन चाहेनन्।

चुनावी प्रयोजनका लागि दल दर्ता गर्नुअघि बालेन्द्रसँगको भेटले कुलमान हौसिएका छन्। उनेपामा कुलमानका विश्वासपात्र मध्येका एक गणेश घिसिङका अनुसार मेयर बालेन्द्रले साथ दिने विश्वास दिलाएका छन्।

‘मेयरसाबले तपाईंहरू अघि बढ्नुस्, मेरो सपोर्ट रहन्छ भन्नुभएको छ,’ उनले भने।

नयाँ राजनीतिक शक्तिहरू एकैठाउँमा आउन सके मात्र वैकल्पिक धार बलियो हुने भन्दै बालेन्द्रले रास्वपालाई पनि मिलाउनुपर्ने बताए।

‘रास्वपा, तपाईंहामी मिलेर एउटै पार्टी बनाएर जाऊँ, म पनि कमिटीमा बस्ने केही साथीहरूको नाम दिन्छु। यसो हुँदा मलाई सपोर्ट गर्न सजिलो हुन्छ,’ कुलमानलाई बालेन्द्रको भनाइ उद्धृत गर्दैै उनेपाका एक नेताले भने, ‘यदि रास्वपा आएन भने पनि तपाईंलाई मेरो साथ रहन्छ, अघि बढ्नू।’

यही कुरा कुलमानले उनेपाका नेतासँगको ब्रिफिङमा भने।

‘बालेनसँग भेटेर आएँ, सकारात्मक हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ,’ कुलमानले ब्रिफिङमा भनेका थिए, ‘अब बालेनजी र उहाँको टिम उज्यालो नेपालसँग हुन्छ।’

बालेनले पटकपटकको भेटमा कुलमानलाई प्रधानमन्त्री घोषणा गरेर जान तयार रहेको, आफ्नो र टिमको साथ र समर्थन रहेको बताउँदै आएका थिए।

सम्बन्धित् समाचार