गृहपृष्ठ खबर समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने

काठमाण्डौ – आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने भएको छ ।

अस्ति आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथ कार्यालयमा स्थापना भएसँगै तयारी शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् ।

मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिनेछ । आउँदो पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्द सूची अन्तिम प्रकाशन हुनेछ । समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गर्नुभएको छ ।

समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २ सय ७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । सभामा १ सय ६५ सदस्यको प्रत्यक्ष र बाँकी १ सय १० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।

सम्बन्धित् समाचार