वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु, बाणगंगा नगरपालिका–१ बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको १५औँ क्याम्पस सभा मंगलबार एक औपचारिक समारोहकाबीच सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा क्षेत्रलाई मजबुत बनाउन राजनीतिक चेत र सामाजिक बोध भएका व्यक्तिहरू नेतृत्वमा आउनु आवश्यक रहेको बताउनुभयो। कक्षा १२ पास गर्दै विदेशतिर आकर्षण बढिरहेको वर्तमान प्रवृत्तिलाई परिवर्तन गर्न नीति–बहस जरुरी रहेको उहाँको भनाइ थियो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्मर शर्माले सिद्धार्थ क्याम्पस जिल्लाको गौरवका रूपमा स्थापित भएकाले यसको सर्वाङ्गीण विकासका लागि सबै तह–तप्काको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। देशभरका क्याम्पसहरू सञ्चालनमा चुनौतिहरू बढ्दै गएको बताउँदै उहाँले त्यस्ता समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो। क्याम्पस–क्याम्पसबीचको अस्वस्थ प्रतिस्पर्धाले शिक्षा क्षेत्रमा विकृति फैलिँदै गएको भन्दै यसले निकट भविष्यमा ठूलो संकट निम्त्याउन सक्ने चेतावनी समेत दिनुभयो।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले स्थानीय सरकारले क्याम्पसलाई निरन्तर सहयोग गर्दै आएको बताउँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीहरूले उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। नगरपालिकाले आगामी दिनमा पनि क्याम्पसलाई सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
क्याम्पसका पूर्व प्रमुख बालाराम ज्ञवालीले क्याम्पसको समग्र उन्नतिका लागि प्राध्यापक तथा सरोकारवालाहरू सक्रिय र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। सञ्चालक समितिका सदस्य गोविन्द पोख्रेल, डिल्लीराम भट्टराई र मिन प्रसाद घिमिरेले क्याम्पसलाई थप उचाइमा पु¥याउन सबै पक्षबीच अझ सशक्त समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

सभामा क्याम्पस प्रमुख वेदराम अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आन्तरिक लेखा समिति संयोजक गणेश बहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संचालन उपप्राध्यापक कुलराज भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय अगुवाहरू तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।








