गृहपृष्ठ खबर सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

सिरहा – सरकारले तोकेको धानको समर्थन मूल्यमा बेच्न यसवर्ष किसानको आकर्षण बढेको छ । तर खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भने समस्या भएको छ । कोटा अनुसार कम्पनीले धान खरिद गर्ने गर्छ । अरु ठाउँमा जस्तै सिरहाको लहानमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा पनि यसपाली धान बेच्ने किसान धेरै देखिएका छन् ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण सबै किसानको धान खरिद गर्न चुनौती भएको छ । खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यसवर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ ।

गएको वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो । विभागबाट यसवर्ष न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उहाँको भनाइ छ । गएको वर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए । त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए ।

यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ । कम्पनीले तीन हजार ६ सय २८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छ, भने व्यापारीले प्रति क्विन्टल दुई हजार आठ सय रुपैयाँसम्ममा मात्र खरिद गरिरहेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हिजो बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित् समाचार