कालीकोट ।
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ। सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो।
नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गरे पनि पाउन सकेको छैन । अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको छ।
वैशाखयता १५–१५ दिनको फरकमा १८ औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त परेन। विद्यालयका प्रधानाध्यापक (प्रअ) दानबहादुर बुढाले गणितका शिक्षक पाउनै मुस्किल भएको बताए।
गत कात्तिक ३० गते विद्यालयले १९ औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक पाउन कठिनाइ भएको प्रअ बुढाको भनाइ छ।
९० प्रतिशत दलित समुदायको बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिँड्नु पर्छ। विद्यालय टाढा भएपछि स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बाल विकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्यानरत रहेको खबर आजको गोरखापत्र दैनिकमा समाचार रहेको छ।
तीन प्रावि स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन्।
यस्तै शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रका लागि मावि तह विज्ञान विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दासम्म अध्यापन अनुमतिपत्र भएको एक जनाले पनि दर्खास्त दिएनन्।
पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि बिनालाइसेन्सको विज्ञान शिक्षक भर्ना गरेर विद्यालयले अध्यापन गराउँदै आएको छ।








