गृहपृष्ठ खबर युवाको धम्कीपछि कांग्रेस अर्घाखाँचीमा उम्मेदवार सिफारिस अलपत्र

युवाको धम्कीपछि कांग्रेस अर्घाखाँचीमा उम्मेदवार सिफारिस अलपत्र

अर्घाखाँची — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिसको विषयमा अर्घाखाँचीमा विवाद भएको छ । नाम पठाउन सन्धिखर्कमा बिहीबार र शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेको हो ।

 

प्रत्यक्ष, समानुपातिक र ०८२ माघ २१ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि एक–एक जना मात्रै उम्मेदवारको नाम सिफारिस नगरे जिल्ला कार्यसमितिविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने युवा समूहको चेतावनीपछि शुक्रबारको बैठकले नाम तय गर्न नसकेको हो । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रत्यक्षका लागि पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु मुस्कान, डा. रामबहादुर बीसी, डा. मुक्तिराम श्रेष्ठ, डा. जयबहादुर टण्डन, पूर्वसभापति कमलप्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, लेखनाथ पोखरेल, उपसभापति बाबुराम पौडेल आकांक्षी छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख पुष्पा भुसाल गौतमले प्रत्यक्ष चुनावबाट पछि हटेर समानुपातिक रोजेकी छिन् । पाँच दलीय गठबन्धनको साथ पाउँदा पनि ०७९ मा उनी एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । दलितबाट ललिता सुनार, निर्मला क्षेत्री लगायत उम्मेदवार आकांक्षी देखिएका छन् । राष्ट्रियसभामा कांग्रेस प्रदेश सदस्य शान्ता भण्डारी, रामबहादुर बीसी लगायत आकांक्षी छन् । आकांक्षीहरूले युवादेखि जिल्लाका नेताहरूलाई मनाइरहे पनि सहमति हुन सकेन ।

तरुण दलका जिल्ला अध्यक्ष एवं सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्का, प्रदेशसभा (२) कांग्रेस उपसभापति अर्जुन पोखरेलसहित विभिन्न भ्रातृ संगठनका २२ जना कांग्रेस युथ समूहले हस्ताक्षर गरेर जिल्ला कार्यसमितिलाई ध्यानाकर्षण पत्र पठाएर दुई दिन पार्टी कार्यालय घेरेर बसेका थिए ।

सम्बन्धित् समाचार