वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर जीपपुरमा रहेको कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्ट प्रा.लि.मा अध्ययनरत डिप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम) तेस्रो ब्याचका विद्यार्थीहरुलाई विदाई गरिएको छ । आज आइतबार बाणगंगा नगरपालिका–१ बुङ्चीमा रहेको होटल श्रीपेचमा आयोजित एक विशेष समारोहकाबीच प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुलाई ससम्मान विदाई गरिएको हो ।

६ महिना कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्टमा सैद्धान्तिक तथा प्रायोगिक अध्ययन र ६ महिना नेपाल तथा भारतका विभिन्न पाँचतारे होटलहरुमा इन्टर्नसिप पूरा गरेका ११ जना विद्यार्थीहरुलाई कार्यक्रममार्फत विदाई गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक दिलिप आलेले होटल व्यवस्थापन क्षेत्र सम्भावनायुक्त र अन्तर्राष्ट्रिय स्तरमा रोजगारीको अवसर दिने क्षेत्र भएको उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थीहरुले अध्ययनसँगै व्यवहारिक अनुभव हासिल गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा इमान्दारिता, अनुशासन र सीपको प्रयोग गर्दै अघि बढ्न शुभकामना दिनुभयो । “यहाँ प्राप्त ज्ञान र अनुभवले तपाईंहरुको करियर निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ । प्राप्त ज्ञानसिपलाई व्यवहारमा उतार्दै निरन्तरता दिनुहोला,” उहाँले भन्नुभयो ।
कार्यक्रममा डिजन श्रीस, युवराज झेडी, अविनाश थापा, क्रिस राना, ग्यानु रेस्मी लगायतका विद्यार्थीहरुले अध्ययनकाल र इन्टर्नसिपका क्रममा प्राप्त अनुभवहरु साझा गर्नुभएको थियो । उहाँहरुले संस्थाले प्रदान गरेको व्यवहारिक शिक्षा, शिक्षकहरुको सहयोग र विदेशी होटलमा काम गर्दा सिकेका सीपले आफूहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताउनुभएका थियो ।
डिएचएम पाँचौँ ब्याचका विद्यार्थी रविन थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन करुना चौधरी र झविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने विनु वाग्लेले स्वागत मन्तव्य राख्नुभएको थियो । विविध सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुका अभिभावकको तर्फबाट पूर्णिमा सिंजालीले बोल्दै संस्थाले विद्यार्थीहरुको भविष्य निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
कपिलवस्तु स्कुल अफ होटल म्यानेजमेन्ट प्रा.लि.ले डिप्लोमा इन होटल म्यानेजमेन्ट, बारिस्ता, बार टेन्डिङ, कुकिङ तथा होटल सम्बन्धी विभिन्न तालिमहरुमा धमाधम भर्ना खुला रहेको जानकारी समेत दिएको छ ।








