वैखरी अनलाईन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। मतदाता भेटघाट, घरदैलो अभियान तथा संगठन विस्तारका कार्यक्रममार्फत पार्टीले चुनावी माहोल थप सशक्त बनाउँदै लगेको छ।

सोही क्रममा सोमबार एकैदिन सुद्धोधन गाउँपालिकाको लवनी र मायादेवी गाउँपालिकाको पकडीमा राप्रपाका सम्पर्क कार्यालयहरूको उद्घाटन गरिएको छ। एक विशेष समारोहबीच पार्टीका केन्द्रीय सदस्य ध्रुव रायमाझीले दुवै सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रायमाझीले राप्रपा मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र सुशासनको संरक्षणका स्पष्ट एजेण्डासहित जनतामाझ गएको बताउनुभयो। उहाँले वर्तमान अवस्थामा जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै राप्रपा भरोसायोग्य विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गर्नुभयो।
उहाँले यस निर्वाचनले मात्र मुलुकलाई निकास दिन नसक्ने जिकिर गर्दै तत्काल राजा, सरकार र जनताबीच समझदारी आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, चुनाव नजिकिँदै मात्र जनतामाझ आउने ‘टुरिस्ट उम्मेदवार’ भन्दा यही क्षेत्रका जनताको दुःख–सुख बुझ्ने स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने धारणा राख्नुभयो।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शत्रुधन विलास सिंह कुर्मीले पार्टीको नीति, सिद्धान्त र चुनावी प्रतिबद्धता जनतासम्म पुर्याउन सम्पर्क कार्यालयहरू महत्वपूर्ण माध्यम हुने बताउनुभयो। उहाँले स्थानीय विकास, रोजगारी सिर्जना, कृषि र शिक्षा क्षेत्रको सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। आफू लामो समयदेखि समाज सेवामा सक्रिय रहँदै आएको बताउँदै उहाँले सबै मतदातालाई मतदान गरी विजयी गराउन अपिल गर्नुभयो।
उक्त कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, संगठन विभाग प्रमुख राजेन्द्र विक्रम शाह लगायतका अन्य नेता-कार्यकर्ताहरूले राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको जनाउँदै घरदैलो अभियानलाई अझ व्यापक बनाइने बताए। उनीहरूले सम्पर्क कार्यालयहरूलाई संगठन सुदृढीकरण र मतदाता समन्वयको केन्द्रका रूपमा प्रयोग गरिने स्पष्ट पारे।
राप्रपाले आगामी दिनहरूमा कपिलवस्तुका विभिन्न स्थानमा यस्तै कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









