पोखरामा सुटकेसभित्र युवतीको शव भेटिएको छ।
पोखरा महानगरपालिका-१७ चितेपानीको भन्ने खोलाको पुलमुनि सुटकेसमा युवतीको शव भेटिएको हो।
कपडाले बेरेको अवस्थामा सुटकेस देखेपछि आइतबार बिहान ८ बजेतिर स्थानीहरूले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले जानकारी दिए।
‘सुटकेस खोलेर हेर्दा घाँटी काटिएको अवस्थामा युवतीको शव फेला परेको हो,’ एसपी कार्कीले भने, ‘अहिलेसम्म युवतीको पहिचान खुलेको छैन।’
उनका अनुसार युवती अन्दाजी २३ देखि २५ वर्ष उमेरकी छन्। उनको साथबाट मेडिकल कार्ड फेला परेको छ। उक्त कार्डमा मनिषा विक लेखिएको छ।
युवतीको शव पोस्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
युवती केही महिनाअघि मात्र एक पुरूषसँग पोखरा ड्यामसाइडकै एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ। उनीहरूले जापानी भाषा सिक्ने भनेर भाडामा बस्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ।
‘युवतीसँगै बस्ने भनिएका पुरूष फरार छन्,’एसपी कार्कीले भने।








