गृहपृष्ठ खबर कपिलवस्तु- १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी माहोलले दलहरू तनावमा

कपिलवस्तु- १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी माहोलले दलहरू तनावमा

वैखरी अनलाईन, बाणगंगा ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी माहोलले प्रमुख राजनीतिक दलहरूलाई समेत दबाबमा पारेको छ। पछिल्लो समय गाउँ–गाउँमा देखिएको जनसहभागिता र युवाहरूको उत्साहले उनको चुनावी अभियान थप सशक्त बन्दै गएको छ।

घरदैलो अभियान, भेटघाट तथा विभिन्न स्थानमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत शर्मा मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। विशेषगरी युवाहरू, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक तथा परिवर्तन चाहने मतदाताको साथ आफूले पाउँदै गएको उनी निकट स्रोतहरूले बताएका छन्।

शर्माले आफ्नो अभियानलाई “समृद्ध कपिलवस्तु निर्माण”को एजेन्डासँग जोड्दै रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। उनले परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद गर्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको चुनावी गतिविधि तीव्र बन्दै जाँदा क्षेत्रका स्थापित दलहरू समेत आफ्नो रणनीति परिवर्तन गर्न बाध्य भएका स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका शर्माले छोटो समयमा नै उल्लेखनीय जनसमर्थन जुटाएको चर्चा जिल्लाभर फैलिएको छ।

निर्वाचनमा कपिलवस्तु–१ को प्रतिस्पर्धा निकै रोचक बन्ने संकेत देखिएको छ।

प्रमुख दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेका बेला स्वतन्त्र उम्मेदवार शर्माको बढ्दो प्रभावले चुनावी समीकरणमा नयाँ आयाम थपिएको स्थानीयहरू बताउँछन्।

सम्बन्धित् समाचार