तस्बिर : एजेन्सी
दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोले साढे ११ सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका छन् ।
इन्डोनेशियाको सुमात्रा, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा लगातार वर्षा र चक्रवातका कारण बाढी पहिरोमा परि लाखौं मानिस विस्थापित भएका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । इन्डोनेशियामा मात्रै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ ।
श्रीलङ्कामा साढे ३ सय जना, थाइल्यान्डमा १ सय ७६ जना र मलेशियामा ३ जनाको ज्यान गएको खबरमा उल्लेख छ । इन्डोनेशिया र श्रीलङ्का दुवै देशले सेना परिचालन गरी उद्धार तथा राहत कार्य भइरहेको जनाएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ भने विद्युत् तथा सञ्चार अवरुद्ध हुँदा हवाई तथा डुङ्गा मार्फत आपत्कालीन सामग्री पुर्याइँदैछ ।
श्रीलङ्कामा झन्डै ११ लाख मानिस प्रभावित भएका खबरमा उल्लेख छ । श्रीलङ्का सरकारले यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । धेरै ठाउँमा विद्यालय, पुल, घर र खेतबारी बगाएको छ ।
हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । त्यहाँको मौसम विभागका अनुसार केही ठाउँमा अझै ठूलो वर्षाको सम्भावना कायमै रहेकोले उद्धार तथा राहतमा थप समस्या भइरहेको छ ।








