गृहपृष्ठ जीवन शैली परम्परागत झारफूक बाट रोग नीको हुने प्रक्रिया र यसमा प्रयोग हुने गुप्त प्रविधि

परम्परागत झारफूक बाट रोग नीको हुने प्रक्रिया र यसमा प्रयोग हुने गुप्त प्रविधि

प्रकाशित मिति:

कोहि मानिस बिरामी हुँदा धामी झाक्रीकोमा पुग्ने चलन अझै पनि धेरै ठाउँमा रहि आएको छ। धामी झाक्री वा झारफूक गर्न जान्ने ब्यक्तिले सामान्य देखि जटिल रोगहरु पहिचान गरि उपचार गर्न पनि सक्षम हुने गर्दछ। आयुर्वेद राम्रोसँग अध्ययन गरेका वैद्य वा कबिरले भने नाडी मात्रै जाँच गरेर पनि त्रिदोष आदि रोग पहिचान गर्न सक्दछन् र आयुर्वेदिक औषधिको माध्यमबाट उपचार गर्दछन्।

 

यहाँ आश्चर्य लाग्दो विषय के भने झारफूक बाट मात्रै पनि सामान्य देखि गम्भीर रोग नीको भएको अनुभव गरेको प्रशस्तै ब्यक्तिहरुले बताउँछन्। आखिर केवल झारफूक मात्र बाटै पनि कसरी यस्ता रोगहरुको उपचार हुने होला त? यसको पछाडी पक्कै पनि कारण हुनुपर्छ। आध्यात्मिक विषय वा ईश्वरीय शक्तिलाई भने वैज्ञानिकता प्रयोग गरि पुष्टि गर्न सकिँदैन। यदि कहि कतै उत्तर दिन नसकिने चमत्कारिक घटना भैहाल्यो भने पनि विज्ञानले यसलाई संयोग वा प्राकृतिक प्रक्रियाको गलती भनेर भन्ने गर्छ। यस्तो संयोग देखापर्नु भनेको एकादुई मा मात्रै हो। धेरैमा यस्तै घटना वा प्रतिफलहरु दोहोरीए भने यस्लाई संयोग अथवा नेचुरल मिस्टेक अन फेनोमेना भन्न मिल्दैन। झारफूकको विषयमा पनि मलाई आफैंलाई उत्कण्ठा जागेको थियो। आफैं ज्योतिषको अध्ययनकर्ता भए पनि विज्ञानको विद्यार्थी भएकोले पनि कुनै पनि विषयवस्तुमा कारण हुनुपर्छ भन्ने बैज्ञानिक ढङ्गको जिज्ञासा रहिआएको हो। यसैले पनि झारफुकको शैली भित्र पनि पक्कै कुनै न कुनै प्रक्रिया छ कि भन्ने मेरो अनुमान रह्यो र यसतर्फ अध्ययन गर्न मन लाग्यो।

मंत्र उच्चारण तथा तान्त्रिक प्रक्रियामा भने ध्वनी तरङ्गले सुक्ष्म रूपमा क्वान्टम लेभलमा कार्य गर्छ यसको लागि शरीरको आसन, ध्यान र उच्चारण तीनै कुराको सहि ढङ्गले प्रयोग गर्नुपर्छ। यो साधना वा बिधिलाई हामीले तंत्र एवं मंत्र थेरापीको रूपमा पनि बुझ्न सक्छौ। तन्त्र विज्ञानलाई विज्ञानकै रूपमा बुझेर विभिन्न क्षेत्रहरूमा अबलम्बन पनि गरिरहेका छन्। तर गाउँ घरमा आवाज पनि नसुनिने तरिकाले मंत्र उच्चारण गरि फुक्ने चलन छ। यसलाई झारफूक भनिन्छ। मंत्र नसुनिने गरि पढिन्छ र सकिएपछि फु फु गरि फुकिन्छ र चुट्की मारिन्छ। त्यसैले पनि यसलाई फुक्ने भनेर भन्ने गरिन्छ। यस्तो आश्चर्यलाग्दो एवं झट्ट हेर्दा अवैज्ञानिक देखिने भएर पनि गाउँघर तिर वा अन्य ब्यक्तिहरुले पनि दैवी वा झारफूककै चमत्कारको रूपमा विश्वास गर्दै आईरहेका छन्। कारण नबुझी वा बुझ्न नचाही विश्वास गरिने प्रक्रियालाई हामीले अन्धविश्वास पनि भन्ने गर्छौ। मेरो सानो अध्ययनले झारफूकबाट रोग नीको हुने कुरामा केही तथ्यहरु अनुमान लगाएको छ-

हाम्रो मन मस्तिष्कमा उत्पन्न हुने प्रत्येक सोच र एक्सनहरू सबै हाम्रो मानसिक तरङ्गमा भर पर्ने गर्छन्। हामी गर्ने क्रिया र प्रक्रिया देखि शरिरको जैविक नियमितता सम्म यसले नै सुक्ष्म रूपले संचालन गरिरहेको हुन्छ। भुतप्रेत आदि अस्वभाविक दृश्यको अनुभूति एवं सपनाका चित्रण पनि मनबाट नै उत्पन्न हुने कुरा हुन् जसलाई हामी मनोविज्ञानको भाषामा ब्याख्या गर्न सक्छौ। हामीलाई डर र चिन्ता भयो भने शरीर काप्ने, मुटुको धड्कन बढ्ने, पिसाब लाग्ने, गर्मी हुने वा पसिना आउँने जस्ता शारीरिक लक्षण हरु देखापर्ने गर्छन्। डर चिन्ता भनेक मनबाट हुने कुरा हो त्यसैले मनोविज्ञानले पनि शारिरिक प्रक्रिया तथा बायोलोजीकल अवस्थालाई नियन्त्रण गरिरहेको हुन्छ र शरीरमा परिवर्तन भैरहने रोग वा लक्षणहरुमा पनि लगभग पचास प्रतिशत भन्दा माथि साइकोलोजिकल असर नै रहेको हुन्छ। यस अर्थमा पनि हामी यो बुझ्न सक्छौ कि झारफूकको प्रक्रियाले मनलाई रोग नीको हुने आश्वासन मिल्छ र पचास प्रतिशत सम्म सन्चो गराउँछ।
यो एउटा कारण हो र लगभग सबैलाई थाहा भएको कुरा पनि हो। तर बाँकी पचाश प्रतिशत के को आधारमा नीको हुन्छ त? यसमा प्रयोग हुने प्रविधि के होला त? यो मुख्य जिज्ञासाको कुरा हो। विभिन्न रोगको झारफुक प्रक्रिया र मैले फेला पारेको प्रबिधि यसप्रकार छन्-

१.खुट्टा मर्के सर्केको फुकेर नीको पार्ने

– खुट्टा मर्के सर्केको अवस्थामा धामीले वा फुक्ने ब्यक्तिले आँसी (हसियाँ) वा हल्का तिखारिएको दाउरा अथवा काठको प्रयोग गर्छन्। उक्त दुखेको भागमा क्रमैले मिलाएर खरानी लगाई शैली सँग दाउरो वा हसियाले चलाउँने गर्छन् र मन्त्र जप्दै फु फु गर्दै फुकेर चुट्की मार्ने गर्छन्। यसरी दाउरा वा हसियाले बिस्तारै क्रमसँग घर्षण गर्दा त्यहाँ खप्टिएका वा बिस्थापित भएका नशाहरु ठिक ठाउँमा आउँन सुरु गर्छन् र आराम महसुस हुँदै जान्छन्। यस्तो हुँदा दिनमा दुई पटकका दरले करिब तीन दिन सम्म लगातार फुक्नु पर्छ भन्ने छ। यहाँ फुक्ने र जप्ने भन्ने कुरा बहाना मात्रै देखियो जसले जादु जस्तो देखाओस् तर प्रविधी भने आँसि (हसिया) वा तीखो दाउरोले गरिएको नशाको मालिस देखियो यसरी लगातार गर्दा ठिक ठाउँमा आफैं आउँने भयो।

२.गानो गएको पानी फुकेर खुवाउँने

– गरुङ्गो काम गर्दा गानो गयो कि भन्ने कुरा हामीले पक्कै सुनेका छौ। गानो नाभीको नजिक बल्किरहेको हुन्छ यो आन्द्राकै एक महत्वपूर्ण भाग हो। गाह्रो काम गर्दा वा गरुङ्गो चिज उचाल्दा यो गानो आफ्नो स्थानबाट सर्न सक्छ। यस्तो हुँदा खाना खाएको कुरा पेटमा अडिन नसक्ने, पाचन प्रणालीले काम गर्न नसक्ने तथा थकान आदिको महसुस गराउँने आदि हुन्छ। यसको लागि फुक्न जान्नेको मा गएर उपचार गर्दा उनिहरुले आधा गिलास पानीमा अलिकति बेसार मिसाए (काचो बेसार पानी) फुकेर खुवाउन लगाउँछन् र गिलास घोप्ट्याउँन लगाउँछन् त्यसपछि उत्तानो परेर सुत्न लागाउँछन्। यहाँनेर पनि झारफूक भन्दा प्रबिधिकै प्रयोग भयो। सायद हामी सबैलाई थाहा छ कि बेसारमा अनेक धेरै औषधिय गुणहरू पाईन्छन्। यहाँ पानीमा मिसाएको काचो बेसारले पिएर उत्तानो परि सुतेपछी ठाउँ सरेको आन्द्रा गानोलाई ठिक ठाउँमा ल्याउँन मद्दत पुरायो। यदि यो प्रविधी अरुले पनि जाने भने सबैले आफैंले प्रयोग गर्ने भए र फुक्ने मानिसको जादुको तारिफ नरहने भयो त्यसैले यहाँ ज्ञान गुप्त राख्न फुक्ने मंत्रको बाहना ल्याईयो।

कपट परेको (खान मन नलाग्ने) फुक्ने तरिका
– यदि कोहि ब्यक्तिलाई खाना रुचिरहेको छैन भने यसलाई कपट परेको भनिन्छ। कपट पर्दा कसैको खाने कुरामा आँखा परेकोले नरुचेको र फुकेर खानुपर्छ ठिक हुन्छ भन्ने विश्वास छ। खाने कुरा फुकेर खायो भने साच्चिकै ठिक हुने गर्छ पनि। खाना फुक्दा थोरै चम्चामा अटाउँने वा केही बढी मह घ्यू आदि सात महत्वपूर्ण प्रकारका मिश्रण बनाएर खरानी छर्किदै फुक्ने गर्छन् र चुट्की बजाएर फू फू गर्दै बिहानको समयमा खाली पेटमा ढोकामा उभिएर खान लगाउँछन्। त्यस लगत्तै बिस्तारै खाना रुच्न थाल्छ। यहाँ पनि गुप्त तरिकाले औषधि एवं प्रबिधि नै प्रयोगमा आयो। महमा हजार औषधिय गुण हुन्छ र यस्तै सात प्रकारका खाने कुराको मिश्रणले पेटलाई सफा राख्न मद्दत गर्छ। यसैगरी त्यहाँ छर्किएको खरानीले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। खरानी जलिसकेको अन्तिम पदार्थ हो। आयुर्वेदमा, हिरा, रत्न एवं धातु आदिको भष्म (खरानी) लाई ठुला ठुला रोगको उपचारको लागि महमा मिसाएर खान प्रयोग गरिन्छ। खरानी बेस अथवा क्षार तत्व हो। खानाको गडबडिले पेटमा हुने एसिडिटी (ग्यासट्रिक) बढ्दा खाना अरुची हुने पेट, ढुस्सिने आदि हुन्छ। यस्तो अवस्थामा खरानी मिसाएर खादा यसमा भएको बेस तत्वले पेटमा उत्पादिक बढी एसिड सँग निराकरण प्रतिक्रिया गरि साल्ट र पानी बनाउँछ र समस्या कम गराउँदै जान्छ।

टाउँको दुखेको फुक्ने
– टाउँको दुखेको फुक्ने पनि यस्तै प्रबिधी नै हो। विभिन्न कारणवश शिरदर्द हुने गर्छ। शिरदर्द फुक्दा फुक्नेले हात टाउँकोमा राखी क्रमबद्ध रुप प्रक्रियागत हिसाब मालिस गरिरहेको हुन्छ। यसरी मालिस गर्दा रौं रौं देखि नै धेरै आनन्द आउँने गर्छ।

गाई भैंसीको गर्भ अडिएन भने कृतिम वा प्राकृतिक गर्भदान गर्नुपूर्व कागती फुकेर खुवाउँने :
– आँखा लागेर वा कालो छायाले गर्दा गाई भैसीको गर्भ अडिएन भन्ने चलन छ र यस्तो असामान्य भूतप्रेत आदि कुराको दोष हटाई गर्भ अडाउँन करिव सात वटा कागती फुकेर खुवाएर मात्रै बहर/राँगो दिने चलन छ। यसो गर्दा नभन्दै अरु बेला नअडिएको गर्भसमेत रहने गर्छ। यस पछाडीको कारण भनेको कागतीमा हुने एसेटीक एसिड हो। यो एसिडले गर्भ रहनका लागि आवश्यक पर्ने हर्मन उत्पादन गर्न मद्दत गर्दछ र गर्भ रहन्छ।

मैले झारफूकका विषयमा अनुसन्धान गर्दा यसको पछाडी यस्ता प्रविधिहरुको प्रयोग भएको भेटे जसले गुप्त रूपमा काम गरिरहेको हुन्छ। हाम्रा शास्त्रीय कथा, दर्शन र ज्ञानमा असिमित विज्ञान तथा रहस्यले भरिएको छ भने प्रचलनमा बिकास भएका यस्ता परम्परागत प्रक्रियाहरुमा पनि कुनै न कुनै कारण र तथ्यहरु छन् जसको प्रयोग त निरन्तर गरिदै आईयो तर यसबारे ज्ञान भने कुनै कालखण्डमा नै सकिएको थियो। म आफैं विज्ञानको विद्यार्थी हुँदा हाम्रा धर्म शास्त्रमा रहेका ज्ञानका र विज्ञानका कुरा देखि ज्योतिष शास्त्रमा भएका विज्ञान र तथ्यहरु खोज्दै र बुझ्दै आएको हूँ। यो सँगसँगै अन्धविश्वास भनिने परम्परागत शैलीको पछाडी भएका रहस्यमय कुराहरूको उजागर गर्न जिज्ञासा रहन्ज पनि स्वभाविक हो। झारफूकका विषय पनि हेर्दा आश्चर्य लाग्दो र जादूमय देखिने गरि प्रबिधिको प्रयोग गर्दा तारिफ प्राप्त हुनुका साथै प्रबिधिको अरुमा नरहने भयो।

-यूवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

सम्बन्धित् समाचार