आजका युवायुवती तथा शिक्षितहरुको मुटुको ढुकढुकी बनेको फेसबुकले आज मानवजातिलाई ठूलै गुन लगाएको छ । फेसबुक आज फेसबुकप्रेमीका लागि सबथोक बनेको छ । फेसबुकको बढ्दो लोकप्रियताले गर्दा यसको महत्व अझ बढ्दै गएको छ ।फेसबुक आज विचार विनिमयको सस्तो र भरपर्दो माध्याम बनेको छ ।
शाब्दिक अर्थ केलाउँदा अनुहार देखिने पुस्तक बुझिने यस फेसबुकले मानवसमाजको दर्पण नै छर्लङ्ग पारेको छ । आज समाजको दर्पण बनेको छ फेसबुक । के विद्यार्थी ? के शिक्षक ? के व्यापारी ? के ग्राहक ? के किसान ? के मजदुर ? के कर्मचारी ? के प्रहरी ? सबैको प्राणप्रिय बनेको छ यो फेसबुक ।
फेसबुकमै मरिहत्ते गर्ने पनि छन् यँहा, फेसबुकमै माया लाउने पनि छन् यँहा, फेसबुकमै नाता जोड्ने पनि छन् यँहा, फेसबुकमै गुमेका आफन्तलाई पाउने पनि छन् यँहा । मानव समुदायलाई सबैभन्दा बढी गुन लगाउने माभ्याम बनेको छ फेसबुक आज निकै बलियो ।
एकजना मानिस १ वर्षसम्म घरबाट सम्पर्कबिहीन भएका रहेछन् । घरपरिवारले समेत माया मारेका रहेछन् अब छोरो आउँदैन भनेर तर पछि फेसबुकमा नजिकका आफन्तले भेट्टाएर उनलाई घर फर्काएका रहेछन् । फेसबुक आज सम्पर्क हो, समाज हो, सञ्चार हो, विचार हो, अनुभव हो, दर्शन हो यसबाट को पो टाढा रहन सक्ला र ?
फेसबुकले कतिको घर न घाट गराएको छ त कतिको घरबार गराएको छ । कतिलाई मिलन गराएको छ त कतिको बिछोड गराएको छ । फेसबुक आज नसा बनेको छ , सबैलाई लट्ठ पारेको छ , सबैको भोक हराइदिएको छ, सबैको निद्रा हराइदिएको छ, आज फेसबुक नसाबुक बनेको छ ।
यत्तिकैमा मलाई याद याद आयो, मेरो एउटा साथीको त यही फेसबुककै कारणले घरमा ठूलो झगडा परेछ, श्रीमतीले खाना खान बोलाउँदा उनले भनेछन् ,एकछिन ल ….। यो काम गरिदिनुस न भन्दा भनेछन् , एकछिन ल …। अति भएर श्रीमतीले हेर्दा त ऊ मस्त भएर फेसबुकमा ब्यस्त..अनि त उनी आगो भइछन् र अहिले माइत गएर बसेकी छिन् रे । आपसमा बैमानस्यता बढाउने ,आजका श्रीमतीको सौता बनेका छ फेसबुक ..।
वास्तवमा फेसबुक सामाजिक सञ्जाल हो आफ्ना मित्रहरुलाई भेट गराउने जसमा अनुहार छर्लङ्ग हेर्न मिल्छ । यसले त सामाजिक सद्भाव र भाईचाराको पनि विकास गराउने गर्दछ । आज यसको रुप विस्तृत बनेको छ । आज यो आन्दोलनको मैदान बनेको छ ,आज यो बिद्रोहको स्वर बनेको छ , आज यो संघर्षको मैदान बनेको छ, आज यो देशभक्तहरुको प्राण पनि बनेको छ ।
एक ताका प्रचण्डपुत्र दाहालको दुई करोड काण्डले फेसबुकका पेजलाई निकै गर्मायो जो एक आन्दोलनको स्वरुप थियो । हालचालकै कुरा हो अमेरिका विरुद्धको आन्दोलनले पनि निकै फेसबुकलाई गर्मायो । अम्रिकानेहरुले जुत्तामा बुद्ध राखेको विरोधमा बाराकेलाई कट्टुमा राखेका फोटा पोस्ट गरेर आन्दोलन गरेकै छन् देशभक्त नेपाली फेसबुकप्रेमी जनताहरुले ।
ठूला पार्टीका टाउके नेताहरुका टाउका त कति ठाउमा जोडिए कति ठाउमा ,यो पनि आन्दोलनकै एक हिस्सा थियो । एक जना मित्रले त मान्छे बिग्रेर प्रचण्ड बन्न सक्छन् तर प्रचण्ड सप्रेर मान्छे बन्न सक्दैनन् भन्ने फोटो नै पोस्ट गर्नुभयो । हुन पनि हो देशको बिग्रदो परिस्थितिको दोष त यिनै टाउके नेताहरुको त हो । रिस पनि किन नउठोस् त जनतालाई ? रिस पनि त यिनै नेतामथि पोख्न परो नि ।
आजभोलि मोबाइलमा इन्टरनेट र इन्टरनेटमा फेसबुक चलाउनेको त कुरा गरी साध्य नै छैन । मलाई त लाग्छ मुत्रालय र चर्पी जाँदासमेत फेसबुकमै लाइक, कमेन्ट, म्यासेज र स्टाटसमै ब्यस्त हुन्छन् होला फेसबुकप्रमीहरु । अति त जे पनि नराम्रो हरन्छ । गुड पनि धेरै खाँदा तीतो हुन्छ । जीवनसाथीलाईभन्दा बढी फेसबुकलाई माया गर्ने पनि छन् यहाँ । नगरुन् पनि किन ?यो त चीज नै त्यस्तै छ । दुनियाभरका साथी, भाइ, मित्र, आफन्त, नवमित्रहरु यसैमा भेट्न र हेर्न सकिन्छ ।
फेसबुकको महिमा अपरम्पार छ । यसको बयान गरी साध्य छैन । फेसबुकमा च्याट गर्नेको त अजै धेरै आसक्ति छ । च्याटच्याटमा माया गाँसेर कतिले त बिहे नै गरे , कतिले धोका पनि खाए । नाम एउटा फोटा अर्कै राखेर मित्रता गरेर भेट्न जाँदा त कति कठैबरा पनि बने । यसलाई गलत रुपमा प्रयोग गर्नेले त लाजैमर्दो बनाएका छन् । नाम केटीको राखेर केटाले चलाउने, अरुका पासवर्ड चोरेर गलत कुरा पोस्ट गरिदिने जानीजानी नयाँ एकाउन्ट खोलेर अश्लिल र छाडानाङ्गा फोटा पोस्ट गर्नेले फेसबुक समाजलाई दुर्गन्धितसमेत बनाएका छन् एकातिर ।
खास गरेर युवायुवतीको बढी नै आसक्ति छ फेसबुकमा अनि च्याटमा । फेसबुकको लतमा खान बिर्सन्छन् आजका युवायुवतीहरु । खानमात्र होइन सुत्न पनि बिर्सन्छन् ,दिशापिशाव गर्न बिर्सन्छन् तर यस्तो कुनै दिन नआओस् कि फेसबुकको नसाले शास फेर्न भुल्ने । फूलको आँखामा फूलै संसार काँडाको आँखैमा काँडै संसार भनेजस्तै जसमा जस्तो सोँच र क्षमता छ त्यसले त्यस्तै कुरा नै पोस्ट गर्दछ आफ्ना वालमा ।फेसबुकमा नयाँ, ताजा समाचार, जानकारी, सन्देश दिने खालका सामग्री पोस्ट गर्नु प्रशंसनीय र असल कार्य हो जुन कुराले समाजको भलो गर्दछ र मर्यादा पनि राख्दछ ।
फेसबुक सबैको दिलमा राज गर्न सफल भएको छ । सबै यसका परम्भक्त बनेका छन् । सबैको यो प्राणप्रिय बनेको छ । सबैमाझ यो लोकप्रिय बनेको छ । यसको महिमा अपरम्पार त्यसैले सबैलै भन्दा अतिशयोक्ति हुन्न, “जय फेसबुक !”