गृहपृष्ठ Featured चन्द्र सूर्य मुनिको आन्दोलन

चन्द्र सूर्य मुनिको आन्दोलन

प्रकाशित मिति:

बाँधी हात दुवै बस्यौ किन सधैं ए विश्वकर्माहरू?
के बाँच्ने मिचिएर जीवन यसै जागौँ मरौँला बरु।
मान्छेको पहिचान प्राप्त नगरी के मर्नु यो जीवन।
कैले सम्म हली बनी बसिदिने आओ उठाऔँ घन।

आफ्नो शील्प र कर्मका सबकुरा छोड्दै गयौँ खै किन?
हाम्रै कारणले पुग्यो मुलुकमा दर्जा निचो लेखिन।
आओ कर्म गरौँ बुलन्द सबले आवाज आओ जन।
कोही नोकर बन्नु हुन्न जगमा आओ उठाऔँ घन।

कल्ले सक्दछ रोक्न छेक्न पथमा यो एकताको लय।
मान्छेको अधिकार खोज्नुछ जुटौँ केही नमानी भय।
बोली हीन भयौ भने यदि तिमी मुर्दा सरी हो तन।
आफ्नो जीवन पार्न सार्थक सबै आओ उठाओँ घन।

जैल्यै शब्द र लेखमा भनिरह्यौँ दे दे मलाई हक।
माग्ने हैन लडौँ जुटौँ सबजना मुठ्ठी उठाऔँ अब।
भत्काऔँ बदलौँ न रूढी मनको पर्खाल वा बन्धन।
ए कान्छा कति झुक्दछौ अब उठी साथै उठाऔँ घन।

सेना शिक्षक साथमा प्रहरी यी तिम्रो स्वयं हौ तिमी।
तिम्रो साथ छ शिल्प शब्द श्रमको के मा कमी छौ तिमी।
आफ्नो शील्प र स्वेदको भर परौँ यै बन्छ हाम्रो धन।
आफै मालिक हौ स्वयं बुझ कुरा आओ उठाऔँ घन।

हाम्रो जीवन ढाकियो ग्रहणले आओ जुटौँ उम्किन।
यो शिल्पी समुदायमा मिलिजुली ल्याऔँ उज्यालो दिन।
हाम्रो चन्द्र र सूर्यको तलबसी के हुन्न आन्दोलन?
आफ्नो जीवन पार्न सार्थक सबै आओ उठाऔँ घन।

दीप मिलन
१० फाल्गुन २०७७

सम्बन्धित् समाचार