सागर वि.क., वैखरी अनलाईन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्योगी व्यवसायीका समस्याप्रति चिन्ता प्रकट गरेका छन् । उनले उद्योगी व्यवसायीका समस्याको समाधानका निम्ति चल्नुपर्ने कदमहरु उद्योगीबाटै ठोस रुपमा आए प्रदेश सरकार सम्बोधन गर्न तयार रहेको बताए ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ३ भक्तौलीमा अवस्थित माछापुच्छे्र एग्रो प्रोडक्ट पा.लि. को निरिक्षण गर्दै यस्तो बताएका हुन् । कृषि उद्योगको उत्थान हुनुपर्नेमा जोड दिदैं उनले व्यवसायीको संघर्षमा साथ समेत दिने प्रतिवद्धता जनाएका छन् ।
उनले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार तत्काल काम गर्न तयार रहेको बताए । उनले निरिक्षण पश्चात कपिलवस्तुमै माछा, गाईवस्तु, बङ्गुर, कुखुराका लागी चाहिने दाना उत्पादन हुनु सकारात्मक भएको बताउँदै खुशी व्यक्त गरे ।
सो क्रममा मुख्यमन्त्री चौधरीले थारु परिकारका लागी प्रसिद्ध राजाानीमा अवस्थित थारु रिसोर्टको समेत अवलोकन गरि थारु परिकारको स्वाद लिएका थिए ।
प्रा.लि.का संचालक सुसिल शर्मा ‘नेपाल’ ले आर्थिक मन्दीले समग्र उद्योग व्यवसाय धरासायी भएको अवस्थाबारे प्रदेश सरकारलार्ई जानकारी होस् भन्ने उद्देश्यले मुख्यमन्त्रीलाई निरिक्षणको लागी अनुरोध गरिएको बताए । उनले बाणगंगासहित समग्र कपिलवस्तुकै उद्योगी व्यवसायी आर्थिक मन्दीको चपेटामा परेको मुख्यमन्त्री चौधरीलाई जानकारी गराएका थिए ।
उनले उद्योगी व्यवसायीका समस्या समाधान गर्न मुख्यमन्त्री चौधरी सकारात्मक देखिएकाले आफुहरु उत्साहित भएको बताए । उनले केही दिनपछि नै समग्र उद्योगी व्यवसायीका समस्या समाधानका लागी मुख्यमन्त्री कार्यालयमै गई लिखित रुपमै प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए ।
उनले माछापुच्छे्र एग्रो प्रोडक्ट प्रा.लि. मा पशुपालनदेखि मत्स्यपालनका लागी आवश्यक दाना उत्पादन गर्ने स्थितिमा आफुहरु पुगेको बताए । विगत ८ बर्षदेखि ३ जना संचालकले संचालन गरेको उक्त प्रा.लि.मा हाल २० करोड लगानी छ ।