सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.३ का वडाध्यक्ष टेक बहादुर झेडी मगरले सबैको साँझा प्रयासले मात्र वडा समृद्ध बन्न सक्ने बताएका छन् । सोमबार वडाले आयोजना गरेको वडावासीसंग जनप्रतिनिधि कार्यक्रममा वडावासीका प्रश्नहरुको जवाफ दिदैं वडाध्यक्ष मगरले यस्तो बताएका हुन् ।
सिमित स्रोत र साधनमा वडावासीको चाहाना अनुरुप काम गर्नुपर्ने चुनौति रहेको उनको भनाई छ । ‘वडा नं.३ मा सिमित स्रोत साधनभित्र रहेर काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अरु वडामा जस्तो धेरै आम्दानी हुने वनहरु पनि यहाँ छैनन् । वडाकै सिलिङ्गबाट सबै विकास निर्माणका कामहरु गर्नुपर्छ । त्यसैले सबैको चित्त बुझाउन गाह्रो छ ।’
चुनावी मैदानमा उत्रिदाँ वडावासीसंग गरेका प्रतिबद्धताहरु अहिले पनि आफ्नो स्मरणमा रहेको बताउँदै उनले सोही अनुरुप नै काम गरिरहेको दाबी गरे । उनले वडावासीको आवश्यकताहरुमध्ये प्राथमिकताका आधारमा बजेट विनियोजन गरेर काम गरिएको स्पष्ट पारे । उनले वडामा सुशासन कायम गर्न वडा प्रतिवद्ध रहेको बताए ।
वडाबाट प्रवाह हुदैं आएका सेवालाई थप चुस्तदुरुस्त बनाउँदै वडावासीलाई वडा आफ्नो नजिकको सरकार अनुभूति गराउने उनको जिकिर छ । उनले वडामा विभिन्न योजनाहरु ल्याउन नगरदेखि केन्द्रसम्मै आवश्यक पहल गर्दै आएको स्मरण गर्दै चालु आर्थिक बर्षमा करिब ६ करोडको योजना पार्न सफल भएको बताए ।
पत्रकार सागर वि.क.को संचालनमा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य, वडाका जनप्रतिनिधि, राजनितिक दल, टोल विकास समिति, स्वास्थ्य केन्द्र, वन, विद्यालय, बाल संजाल तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।