काठमाण्डाै – नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यसहित दुई हजार एक सय जनाविरुद्ध अनुशासनको कारबाही माग गर्दै उजुरी परेको छ ।
आज केन्द्रीय समिति बैठकमा बोल्दै अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पार्टीको अनुशासन समितिमा ५० जिल्लाबाट दुई हजार एक सय वटा उजुरी प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, सात जिल्ला सभापतिसहित नेता, कार्यकर्तामाथि अनुशासनको उजुरी प्राप्त भएको छ ।
यस्तै बैठकमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारमा बसिराख्ने न्यूनतम आधार के हो भनेर निर्धारण गर्नुपर्ने बताउनुभयो । प्रवक्ता महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रूपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताउनुभयो ।