गृहपृष्ठ Featured अमेरिकी एच–वान बी भिसा शुल्क बृद्धिले मानवीय सङ्कट निम्त्याउने भारतको चेतावनी

अमेरिकी एच–वान बी भिसा शुल्क बृद्धिले मानवीय सङ्कट निम्त्याउने भारतको चेतावनी

एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्‍याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले हिजो निकालेको वक्तव्यमा यो निर्णयले ठूलो मानवीय सङ्कट आउने प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शुक्रवार नयाँ शुल्क लागू गर्ने आदेश दिनुभएको थियो ।  यो निर्णय आजदेखि लागू हुने भनिएको छ । यसअघि यस्तो भिसाको शुल्क एक हजार डलर थियो । पहिलेको तुलनामा अब लिने भनिएको शुल्क ६० गुणा बढी रहेको बीबीसीले जनाएको छ । एच–वानबी भिसालाई अमेरिकी प्रविधि कम्पनीहरूले विदेशबाट दक्ष कर्मचारी भर्ना गर्न उपयोग गर्छन् ।

अमेरिकाले एच–वानबी भिसाको शुरुआत सन् १९९० देखि गरेको हो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए । पछिल्लो तथ्याङ्क अनुसार यो भिसा पाउनेमा ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन् ।

यसैबीच, भारतका वाणिज्य मन्त्री पियूष गोयल भोलि अमेरिकी व्यापार प्रतिनिधिहरूसँग वार्ता गर्न अमेरिका जाने खबरमा भनिएको छ । ट्रम्प प्रशासनले भने भिसा प्रणालीको दुरुपयोग भइ अमेरिकी कामदारहरूको पारिश्रमिक घटाइएको भन्दै यो कदम चालेको स्पष्ट पारेको छ । अमेरिकाले भारतमाथि रूसी तेल खरिद गरेको भन्दै भन्सार शुल्क बढाइरहेका बेला ट्रम्प प्रशासनको यो निर्णयले दुई देशबीचको सम्बन्धमा झनै तनाब ल्याउने सङ्केत देखिएको छ ।

सम्बन्धित् समाचार