गृहपृष्ठ Featured कपिलवस्तुमा साढे दुई लाख बढी मूल्यका अवैध पटकाजन्य पदार्थ बरामद

कपिलवस्तुमा साढे दुई लाख बढी मूल्यका अवैध पटकाजन्य पदार्थ बरामद

कपिलवस्तु प्रहरीले अढाई लाखभन्दा बढी मूल्यको अवैध पटकाजन्य पदार्थ बरामद भएको बताएको छ।

अवैध रूपमा भारतबाट भित्र्याइएका अवैध पटकाजन्य पदार्थ बरामद गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए। कृष्णनगर नगरपालिका– ९, घरनढिहवाबाट करिब दुई लाख ३१ हजार सात सय रुपैयाँ मूल्यबराबरको पटका प्रहरीले बरामद गरेको बताएको  छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा खानतलासी गर्दा उक्त पटका फेला पारी बरामद गरेको  बताइएको छ। प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कृष्णनगरबाट मुन्ना पटका ४० पोका, चिडामबरम सर्ट ६० भन्ने पटका १४ थान र चिडामबरम सर्ट ३० भन्ने पटका १५ पोका प्रहरीले बरामद गरिएको बताएको छ

यस्तै, यशाेधरा गाउँपालिका– ७, सेमरीबन्धाबाट समेत अवैध पटका बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ बोरामा राखी मोटरसाइकलमा सामान ल्याउँदै गरेकोमा प्रहरी गस्ती टोलीलाई देखेपछि सामान सडकछेउमा फालेर मानिस मोटरसाइकलसहित भागेका बताएको छ। उक्त बोरा खोली हेर्दा विभिन्न प्रकारका रु. ३१ हजार ९५८ बराबरको पटका बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिका– ६, धर्मनगरस्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाँजासहित पक्राउ परेको बताएको छ । मन्दिरभित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी आठ किलो ७६० ग्राम गाँजासहित पक्राउ परेकाे बताइएको छ।

स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरेपछि प्रहरीले मन्दिरभित्र खानतलासी गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंह बताए ।

पुजारीको साथबाट आठ हजार २२४ रुपैयाँ नगदसमेत बरामद भएको बताएको छ । पक्राउ परेका पुजारीलाई अदालतबाट १३ दिनको म्याद थपेर कारबाही प्रक्रिया अघि बढाइएको (डिएसपी) रिपेन्द्रकुमार सिंह बताएका छन्। कपिलवस्तु प्रहरीले दीपावली नजिकिँदै गर्दा नेपाल–भारत सिमानाबाट हुने अवैध सामान, विशेषगरी पटका र लागुऔषध कारोबार रोक्न निगरानी कडा बनाइएको जनाएको छ।

सम्बन्धित् समाचार