गृहपृष्ठ Featured ओलीले भने– ‘र्‍याली र जुलुसका लागि तयार रहनू’

ओलीले भने– ‘र्‍याली र जुलुसका लागि तयार रहनू’

२२ असोजमा गुण्डुमा बसेको एमाले जनसंगठनसम्बद्ध पदाधिकारी र कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले र्‍याली र जुलुसका लागि तयार रहन निर्देशन दिएका छन् । मुलुकको परिवर्तित अवस्थालाई मध्यनगर गर्दै सबै संगठनहरूलाई चुस्त र दुरुस्त राख्न ओलीले निर्देशन दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार बुधबार ओलीले हालको गुण्डुस्थित निवासबाट २२ वटै जनसंगठनका पदाधिकारी र उपलब्ध भएका कार्यकर्तालाई बोलाएका थिए । उनीहरूमाझ ओलीले ‘आफूले विषम परिस्थितीमा नेतृत्व छाडेर त्यसै हिँड्न नमिल्ने’ बताएका थिए । उनले पार्टीलाई अप्ठ्यारो परिस्थितिबाटै यहाँसम्म ल्याएको दृष्टान्त दिँदै जस्तोसुकै अवस्थामा पनि राष्ट्रिय शक्ति एक भएर अघि बढ्नुको विकल्प नभएको तर्क गरेका थिए ।

ओलीले बिहीबारको भेटघाट कार्यक्रमको तयबारे पनि नेता–कार्यकर्ताहरूमाझ सुनाएका थिए । उनले उक्त भेलामा सबै जनसंगठनमा आबद्ध भएकाहरूलाई उपस्थितिका लागि निर्देशन दिएका थिए ।

त्यस्तै, २५ असोजमा उपत्यकालगायत प्रमुख शहरहरूमा मोटरसाइकल र्‍याली गर्न र तीन दिनभित्र सबै जनसंगठनका उपत्यकास्तरीय भेला अनिवार्य गर्न भनेका छन् । साथै, सबै जनसंगठनले रचनात्मक कार्यक्रम गर्ने र मातहतका कमिटीलाई परिचालन गर्न भनेको भेलामा सहभागी अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का एक नेताले जानकारी दिए ।

एमालेका अनेरास्ववियुसहित, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल खेलकुद महासंघ, नेपाल बुद्धिजीवी परिषद्लगायतका जनसंगठन रहेका छन् ।

सम्बन्धित् समाचार