गृहपृष्ठ खबर क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

काठमाण्डाै – हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमका बीच टाँचा लगाउनुभयो ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा विभागले आईसीसी पुरुष विश्वकप र आईसीसी महिला १९ वर्षमुनिकाे विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका क्रिकेट खेलाडीहरूको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ साल चैत १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको ५ लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाली पुरुष क्रिकेट टाेली सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको नवौं सस्करणको विश्वकपमा सहभागी भएको थियो । एशियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टाेली विश्वकप खेल्न सफल भएको थियो ।

यस्तै महिला क्रिकेटको उमेर समूह अन्तर्गत १९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा नेपाली टाेलीले खेलेको थियो ।

सम्बन्धित् समाचार