काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव एक मात्र विकल्प भएकाले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभएको छ ।
हिजो शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरुसहित भएको सर्वदलीय बैठकमा उहाँले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई पनि सुझाव दिनुभएको छ ।
बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू चुनावमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताएका थिए । यो शंका र संशय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने उनीहरुको भनाइ थियो ।
बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना चुनाव नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित चुनाव गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो । उहाँले परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह पनि गर्नुभयो ।
बैठकमा मन्त्रीहरुसँगै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल लगायतका नेताहरुको सहभागिता थियो ।